काठमाडौं । अहिले बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलताको स्थिति छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वित्तीय प्रणालीमा ५५ खर्ब ८५ अर्ब निक्षेप छ । यसमध्ये ४८ खर्ब ६३ अर्ब कर्जा प्रवाह भएकोे छ । बैंकहरूको औसत कर्जा निक्षेप अनुपात ८३ दशमलव ९२ प्रतिशत छ । यसले बैंकहरू दुई खर्बभन्दा बढी पैसा ऋण प्रवाह गर्नसक्ने क्षमतामा छन् भन्ने देखाउँछ ।
अर्थतन्त्रको आन्तरिक पाटोमा परेको दबाब अझै कायम रहेका कारण निजी क्षेत्रले मन खोलेर कर्जाको माग बढाउन सकेका छैनन् । कर्जाकोे ब्याजदर अझै पनि महँगो भएको निजी क्षेत्रले बताउँदै आएको छ । व्यवसायीहरूले कर्जाको ब्याजदर एकल अंकमा झार्नुपर्ने माग राख्दै आएका छन् ।
नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिकरूपमा परिवर्तन गर्नुपर्ने व्यवस्था गरेको थियो । सोहीबमोजिम चैत, वैशाख र जेठ महिनाको ब्याजदरको आधारमा औसत आधारदर केही घटेको छ । यसले कर्जाको ब्याजदर घटेको बैंकरले बताएका छन् । वैशाखमा निक्षेपको ब्याजदर घटेको र जेठमा पनि वैशाखकै ब्याजदर कायम भएकाले आधारदर घटेको हो ।
वाणिज्य बैंकहरूको औसत आधारदर जेठको तुलनामा असारमा शून्य दशमलव ११ प्रतिशत विन्दुले घटेको छ । बैंकहरूको पछिल्लो तीन महिना (चैत, वैशाख र जेठ) को औसत आधारदर १० दशमलव ३४ प्रतिशतमा कायम भएको छ । जब कि फागुन, चैत र वैशाखको औसत आधारदर १० दशमलव ४५ प्रतिशत थियो ।
बैंकहरूले सार्वजनिक गरेको तथ्यांकअनुसार चारवटा वाणिज्य बैंकहरूको औसत आधारदर एकल अंकमा छ । राष्ट्रिय वाणिज्य बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल बैंक र नबिल बैंकको आधारदर १० प्रतिशतभन्दा कम छ ।
१६ वटा बैंकको आधारदर १० देखि ११ प्रतिशतको बीचमा छ । जसमा एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कृषि विकास बैंक, सिद्धार्थ बैंक, एनआईसी एसिया, प्रभु बैंक, ग्लोबल आईएमई, एनएमबी, सानिमा, प्राइम कमर्सियल, हिमालयन, नेपाल एसबीआई, कुमारी, माछापुच्छ्रे, सिटिजन्स र लक्ष्मी बैंक रहेका छन् । सनराइज बैंकको आधारदर सबैभन्दा धेरै ११ दशमलव ३१ प्रतिशत छ । बैंकहरूले आधारदरमा केही प्रतिशत प्रिमियम थप गरेर कर्जा दिने गर्छन् । अहिलेको आधारदर उच्च भएकाले कर्जाको ब्याजदर पनि महँगो बनेको हो । आधारदर घट्दा ब्याजदर पनि घट्दै जान्छ भने आधारदर बढ्दा ब्याजदर पनि बढ्दै जान्छ ।
आधारदर नै उच्च भएपछि ब्याजदर महँगो रहेको र महँगो ब्याजदर तिरेर फाइदा नहुने भएपछि कर्जाको माग निकै कम छ । अर्थशास्त्रीहरूले अहिले पनि उच्च ब्याजदर कायम रहेकोेले कर्जा विस्तार बढ्न नसकेको बताउँछन् ।
कर्जाको माग नभएपछि वित्तीय प्रणालीमा तरलता थुप्रिँदा गतसाता अन्तरबैंक ब्याजदर साढे दुई प्रतिशतमा झरेको थियो । राष्ट्र बैंकले दुई पटक गरी रिभर्स रिपो जारी गरी २४ अर्ब रुपैयाँ तानेको छ । त्यसपछि अन्तरबैंक ब्याजदर छ प्रतिशत हाराहारी पुगेको छ । राष्ट्र बैंकले ब्याजदर करिडोरभन्दा तल अन्तरबैंक ब्याजदर नझरोस् भनेर रिभर्स रिपो जारी गरेको हो ।