काठमाडौं । पछिल्लो एक वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप पाँच खर्ब ४४ अर्ब तीन करोड ३० लाख रुपैयाँले बढेको छ । २०७९ जेठ देखि २०८० वैशाख मसान्तसम्म ६३ लाख २० हजार नौ सय २० वटा नयाँ निक्षेप खाता थपिएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको वैशाख मसान्तको तुलनामा चालू आर्थिक वर्षको वैशाख मसान्तमा उक्त परिमाणमा खाता संख्या र निक्षेप रकम बढेको देखिएको हो ।
गत आर्थिक वर्षको वैशाख मसान्तसम्म २७ वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनी सहित ६१ वटा बैंक तथा वित्तीय संस्था सञ्चालनमा थिए । यी सबैमा कुल चार करोड ३७ लाख ९२ हजार पाँच सय ७८ निक्षेप खाता सञ्चालनमा रहेका थिए भने ४९ खर्ब ५० अर्ब ८४ करोड १० लाख रुपैयाँ निक्षेप थियो । २०७९ वैशाखयता आधा दर्जन वाणिज्य बैंकहरु एक आपसमा गाभिएर २१ वटामा झरेका छन् । यस्तै १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहित ५५ वटा बैंक तथा वित्तीय संस्थाहरु कायम छन् । यी सबैमा सञ्चालनमा रहेका कुल निक्षेप खाताको संख्या पाँच करोड एक लाख १३ हजार चार सय ९८ रहेको छ । वैशाख मसान्तसम्म कुल निक्षेप रकम ५४ खर्ब ९४ अर्ब ८७ करोड ४० लाख रुपैयाँ थियो । त्यसयता ८९ अर्ब रुपैयाँ निक्षेप थपिएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
राष्ट्र बैंकका अनुसार वैशाख मसान्तसम्म वाणिज्य बैंकहरुले मात्र कुल चार करोड ३१ लाख नौ हजार छ सय ७६ वटा निक्षेप खातामार्फत ४८ खर्ब ४२ अर्ब ८६ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् । असार दोस्रो साता यो बढेर ४९ खर्ब २७ अर्ब पुगेको छ । वाणिज्य बैंकहरुमा रहेको यो निक्षेप खाता तथा निक्षेप रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा क्रमशः ५२ लाख एक हजार एक सय ४८ वटा र चार खर्ब ७० अर्ब ७० करोड नौ लाख रुपैयाँ बढी हो ।
गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले कुल तीन करोड ७९ लाख नौ हजार पाँच सय २८ वटा निक्षेप खातामार्फत ४३ खर्ब ७२ अर्ब १५ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरेका थिए । विकास बैंकहरुले भने चालू आर्थिक वर्षको वैशख मसान्तसम्म ६२ लाख ४१ हजार छ सय ८१ वटा निक्षेप खातामार्फत पाँच खर्ब ४४ अर्ब १६ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् । विकास बैंकहरुको यो निक्षेप खाता एवं निक्षेप रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा क्रमशः नौ लाख ७७ हजार ७८ वटा र ६४ अर्ब ७८ करोड ८० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरुको यस्तो निक्षेप खाता तथा निक्षेप रकम ५२ लाख ६४ हजार छ सय तीनवटा र चार खर्ब ७९ अर्ब ३८ करोड रुपैयाँ थियो ।
राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरुले वैशाख मसान्न्तसम्म कुल सात लाख ६२ हजार एक सय ४१ वटा निक्षेप खातामार्फत कुल एक खर्ब सात अर्ब ८४ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा क्रमशः एक लाख ४३ हजार छ सय ९४ वटा र आठ अर्ब ५३ करोड ६० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरुले छ लाख १८ हजार चार सय ४७ वटा निक्षेप खातामार्फत ९९ अर्ब ३० करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरेका थिए ।