काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजान भू–माफियासँग मिलेर सरकारी लिखत किर्ते गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध अदालतबाट पक्राउ अनुमति जारी गरिएको छ ।
जिल्ला अदालत काठमाडौँले बस्न्यातलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लाई अनुमति दिएको हो । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार बस्न्यात अहिले फरार छन् । भूमिसुधार मन्त्रालयको सचिव हुँदा उनले ललिता निवाससम्बन्धी पटक–पटक पत्राचार र निर्णय गरेका थिए ।
यसअघि बस्न्यातविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । २०७८ वैशाख २४ मा सर्वोच्च अदालतको आदेशले उनी ५ लाख धरौटीमा रिहा भएका हुन् ।