काठमाडौं । बीसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८० को अवसरमा शुभकामना सन्देश दिदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु अनुकूलित धानका जात र खेती प्रविधिको विकास र कृषकस्तरमा प्रविधि हस्तान्तरणलाई अझ बढी व्यवस्थित बनाउनुको साथै यसको गति बढाउनु अत्यावश्यक रहेको बताएका छन् ।
पछिल्लो समय उनले जलवायु परिवर्तनका कारण सुक्खा खडेरी, अतिवृष्टि, असमयको वर्षा, बाढी पहिरो, रोग तथा किराको प्रकोप आदिको क्रम बढ्दै जाँदा धान उत्पादनमा नकारात्मक असर बढ्दै गएको छ भनेका छन् ।
प्रधानमन्त्रीले नागरिकको खाद्य तथा पोषण सुरक्षाको प्रत्याभूत गर्नु लोक कल्याणकारी राज्यको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै रोपाइँ महोत्सवको अवसरमा सम्पूर्ण देशवासी दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीले सन्देशमा भनेकका छन्, “देशमा खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुता कायम गर्नमा धानको प्रमुख भूमिका रहेको परिप्रेक्ष्यमा राष्ट्रियस्तरमा धानको उत्पादन बढाउन वर्तमान सरकारले सिँचाइ सुविधाको विस्तार, रासायनिक मल तथा बीउमा अनुदान, प्रविधि विस्तार, अनुसन्धान र विकास तथा न्यूनतम समर्थन मूल्यको कार्यान्वयनजस्ता कार्यक्रम प्राथमिकताका साथ कार्यान्वयन गरिआएको छ ।”
उनले सरकारका प्रयासले धान उत्पादन वृद्धिमा महत्वपूर्ण भूमिका खेलेको भए तापनि बढ्दो माग पूर्ति गर्नका लागि आन्तरिक उत्पादन अपर्याप्त भएकाले धान चामल आयात बर्सेनि बढ्दै गएको यथार्थता पेश गरेका छन् ।