काठमाडौं । नेपाल उद्योग परिसंघले अर्थतन्त्रलाई चलायमान बनाउन बजेटको सफल कार्यान्वयनमा जोड दिएको छ । परिसंघका नवनिर्वाचित पदाधिकारीहरूले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटी बजेटको सफल कार्यान्वयनमा जोड दिएका हुन् ।
परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बजेटको सफल कार्यान्वयनका लागि सरकारले घोषणा गरेको अनुगमन समितिमा निजी क्षेत्रको समेत प्रतिनिधित्व गराउन आग्रह गरे । यस्तै, उनले निर्धारित पुँजीगत खर्च समयमै हुने वातावरण बनाउन पनि माग गरे । बजेटले लक्ष्य राखेको छ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न, अर्थतन्त्रलाई चलायमान बनाउन खुकुलो मौद्रिक नीति आवश्यक रहेकोमा पनि उनले जोड दिए । अध्यक्ष अग्रवालले हाल एफपीओ, मर्जर तथा एक्वीजीसनमा भूतप्रभावी हुनेगरी कर लगाउँदा लगानीकर्ताहरू हतोत्साही हुने र अन्तर्राष्ट्रिय बजारमा समेत नराम्रो सन्देश जानेतर्फ सचेत बन्न सरकारलाई आग्रह गरे । उनले स्वदेशी उत्पादनको प्रवद्र्धन एवम् सरकारको राजस्व बढाउन चोरी पैठारी नियन्त्रण गर्नेतर्फ निर्मम ढंगले प्रस्तुत हुन आग्रह गरे । हालै प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको विद्युत् निर्यात तथा विद्युतीय भुक्तानीसम्बन्धी समझदारी छिटो कार्यान्वयनमा लैजानुपर्नेमा पनि उनले जोड दिए ।
सो अवसरमा प्रधानमन्त्री दाहालले आर्थिक एवम् औद्योगिक विकासका लागि परिसंघबाट प्रत्यक्षरूपमा नीतिगत तथा व्यावहारिक सुझावहरू प्राप्त भइरहेको बताए । अध्यक्ष अग्रवालले मुलुकको अर्थतन्त्रमा परेको दबाब र अप्ठ्यारा फुकाउन परिसंघसहित निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखेको जानकारी दिए । प्रधानमन्त्रीसँगको भेटमा उपाध्यक्षहरू वीरेन्द्रराज पाण्डे, अमित मोर, भीम घिमिरे, स्थायी आमन्त्रित पदाधिकारीहरू छाया शर्मा, गोकुल भण्डारी, महानिर्देशक दिपकराज जोशीलगायतको सहभागिता थियो ।