काठमाडौं । ई–सेवा मनी ट्रान्सफर र कुवेतको अल मुजैनी एक्सचेन्जबीच रेमिटेन्स भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै कुवेतमा बसोबास गर्दै आएका नेपालीहरूले कुवेतमा रहेका महाबुला, फर्वानिया, फहाहिल, साल्मियालगायत सहरका एक सय १८ वटा शाखाबाट ई–सेवा मनी ट्रान्सफरको माध्यमबाट जुनसुकै बैंक तथा वित्तीय संस्थामा पैसा पठाउन सक्ने भएका छन् ।
यसैबाहेक नेपालभर रहेका ई–सेवा मनी ट्रान्सफरका १३ हजार आठ सयभन्दा बढी भुक्तानी केन्द्र तथा ई–सेवाका एक लाखभन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तीय संस्थाका साथै ई–सेवा वालेटबाट सहजै रकम प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यसरी पठाएको नगद सोझै ई–सेवा वालेटमा प्राप्त गरी अतिरिक्त ७७ रुपैयाँ बोनस समेत पाउन सकिने छ । ‘अल मुजैनी एक्सचेन्जजस्तो प्रतिष्ठित रेमिटेन्स कम्पनीसँग रेमिटेन्स सम्झौता गर्न पाउँदा हामी एकदमै उत्साहित छौँ ।
कुवेत वैदेशिक रोजगारीका लागि नेपालीहरूले रुचाएको ठाउँ भएको र यहाँ पहिलादेखि नै धेरै नेपालीको बसोबास रहिआएकाले यस सम्झौताले सुरक्षित र भरपर्दो माध्यमबाट नेपालमा पैसा पठाउन सहजता हुने कुरामा हामी विश्वस्त छौं’ ई–सेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले सम्झौताका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भने । अल मुजैनी एक्सचेन्ज कुवेतको अग्रणी विदेशी मुद्रा र विश्वव्यापी रेमिट्यान्स सेवा प्रदायक कम्पनी हो । हाल यस कम्पनीका कुवेतमा एक सय १८ वटा शाखा सञ्चालनमा रहेको जानकारी पनि कम्पनीले दिएको छ ।