काठमाडौं । माई पे डिजिटल वालेटको छात्रवृत्ति योजना सार्वजनिक भएको छ । माई पेले एसईई पास भएका विद्यार्थीलाई मासिक पाँच हजार रुपैयाँसम्मको ‘माई फस्ट डिजिटल वालेट’ छात्रवृत्ति योजना सार्वजनिक गरेको हो । वालेटले एसईई पास भएका एक सय विद्यार्थीलाई छात्रवृत्ति दिन लागेको हो ।
विद्यार्थीलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले यो योजना ल्याएको माईपेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले जानकारी दिए । ‘नवीन प्रविधिलाई युवाले नै आत्मसाथ गर्न सक्दछन्,’ मेहताले भने, ‘त्यसैले हामीले उनीहरूलाई डिजिटल प्रविधिप्रति बेलैमा आर्कषित गरी डिजिटल साक्षरता दिनुपर्ने देखिन्छ । डिजिटल नेपालको सपनालाई साकार पार्न समेत यसले सहयोग मिल्ने छ ।’ छात्रवृत्ति कार्यक्रममा सहभागीमध्ये ९९ जनाले मासिक पाँच सय रुपैयाँका दरले एक वर्षसम्म र एक जनाले मासिक पाँच हजार रुपैयाँका दरले एक वर्षसम्म छात्रवृत्ति प्राप्त गर्न सक्नेछन् ।
कार्यक्रममा सहभागी हुन एसईई दिएर बसेका विद्यार्थीले माईपे वालेट डाउनलोड गरी वालेटभित्र रहेको फर्म भर्नुपर्नेछ । फर्म भर्नका लागि १० रुपैयाँ शुल्क लाग्नेछ । देशैभरका विद्यार्थीहरू यो योजनामा सहभागी हुन सक्ने बताइएको छ । छात्रवृत्तिमा छनौट भइसकेपछि विद्यार्थीले आफ्नो मार्कसिट तथा कक्षा ११ मा भर्ना भएको प्रमाणसमेत पेस गर्नुपर्नेछ । इच्छुकले साउन अन्तिमसम्म आवेदन भर्न सक्ने छन् ।