बेल्जियम । युरोपेली संघ (ईयू) का शीर्ष कूटनीतिज्ञले वाग्नरको विद्रोहले दशकौँयताकै सबैभन्दा ठूलो राजनीतिक संकट निम्त्याएपछि कमजोर बनेका रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘भयानक खतरा’ निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।
‘पुटिन कमजोर हुनुले थप खतरा निम्त्याएको छ । त्यसैले हामीले यसको परिणामबारे धेरै सजग हुनुपर्छ,’ ब्रसेल्समा इयू नेताहरूको भेलाअघि जोसेप बोरेलले भने, ‘अहिलेसम्म हामी रूसलाई खतराको रूपमा हेरिरहेका थियौँ किनभने यो धेरै बलियो थियो र युक्रेनमा बल प्रयोग गरिएको छ । अब हामीले आन्तरिक अस्थिरताका कारण रूसलाई जोखिमका रूपमा हेर्नुपर्छ ।’ सन् १९९९ मा वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनले विद्रोहको नेतृत्व गरेपछि पुटिनले सन् १९९९ मा सत्तामा आएयताको सबैभन्दा ठूलो चुनौतीको सामना गर्नुपरेको थियो ।
यसैबीच, ईयू प्रमुख उर्सुला भोन डेर लेयेनल विद्रोहले ‘पराकम्पन’ निम्त्याउने बताउँदै युक्रेनको सैन्य क्षमता वा आर्थिक सहयोगमा दोब्बर पार्नुपर्ने बताए । नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले बिहीबार ईयूका नेताहरूसँग मध्याह्न भोजन गर्ने क्रममा वाग्नरको कार्यले रूसको राजनीतिक संकट र विभाजनतर्फ उन्मुख भएको बताए । तर, उनले कुनै पनि अन्तिम निष्कर्षमा पुग्न हतार हुने चेतावनी दिएका छन् । स्टोलटेनवर्गले आगामी महिना भिल्नियसमा हुने नेटोको बैठकमा युक्रेनलाई सैन्य सहयोग गर्ने नयाँ घोषणा हुने अपेक्षा गरेको बताए ।
युरोपले ‘युद्धको समयमा र पटि’ युक्रेनलाई समर्थन गर्दै लामो यात्राका लागि युक्रेनलाई सहयोग गर्नुपर्ने भन्दै बोरेलले ‘युक्रेनी रक्षा कोष’ सिफारिस गरेका थिए । उनले उक्त कोषले युक्रेनी सेनाको आधुनिकीकरणमा सहयोग पु¥याउने र युद्धग्रस्त देशको सुरक्षा सुनिश्चित गर्न ईयूको प्रतिबद्धता रहेको बताए ।
लिथुवानियाका राष्ट्रपति गीतानास वाउसेदाले रूसी खतराको सामना गर्न ‘निर्णायक’ कदम चाल्न आह्वान गर्दै बोरेलको भावनालाई प्रतिध्वनित गरेका थिए । वाउसेदाले भने,‘रुसको राजनीतिक प्रणालीमा हुने कुनै पनि गतिविधिले हाम्रो सुरक्षामा असर पार्छ भन्ने कुरामा हामी सचेत हुनुपर्छ तर शक्तिशाली पुटिन कमजोर पुटिनभन्दा कम खतरनाक थिए भन्ने भनाइप्रति मेरो सहमति छैन ।’