काठमाडौ,नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई विशेष अदालतले गैरकानुनी सम्पती आर्जनको मुद्दामा दोषी ठहर गरेको छ । शुक्रबार विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले उनलाई एक वर्ष तीन महिना कैद हुने सजाए सुनाएको छ । उनको नाममा रहेको नौ करोड १९ लाख ६ हजार रुपैयाँभन्दा बढी बिगोबमोजिम जरिवाना हुने फैसला समेत भएको छ ।
खड्काको घरजग्गा,बैंक मौजदात,सेयरसमेतका सम्पति पनि जफत हुने फैसला भएको छ । यसबाहेक मुद्दामा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएकी गोपालकी श्रीमती शर्मिला खड्का तथा अमिता सेदेम्बाको नाममा रहेको सम्पति पनि जफत हुने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध १८ करोड ६६ लाख रुपैयाँभन्दा बढीको गैरकानुनी सम्पति रहेको देखाउँदै मुद्दा चलाएको थियो ।