काठमाडौं,बैशाख १०
कोभिड–१९ को सङ्क्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री सरकार–सरकार (जीटुजी) प्रक्रियाबाट खरिद गर्ने प्रक्रियालाई नेपाली सेनाले अन्तिम रुप दिएको छ । नेपाली सेनाले ती सामग्री ल्याउनको लागि चीन सरकारलाई एक करोड ८४ लाख ४१ हजार ७०६.३५ अमेरिकी डलर अर्थात् दुई अर्ब २५ करोडभन्दा बढी रुपैयाँ भुक्तानी गरेको छ । नेपालले भुक्तानी गरेको रकम पाइसकेको पनि चिनियाँ पक्षले जानकारी दिइसकेको छ ।
एउटा व्यापारिक समूह ओम्नी ग्रुपलाई स्वास्थ्य सामग्री खरिद गर्न दिँदा धोका पाएपछि सरकारले जीटुजीबाट खरिद गर्ने निर्णय गर्दै त्यसको जिम्मा नेपाली सेनालाई दिने भनेको थियो । सोही निर्णयअनुसार सेनाले सामग्री खरिदको प्रक्रिया पूरा गरेको हो । सेनाले मंगलबार जङ्गी अड्डामा पत्रकार सम्मेलन गर्दै चिनियाँ पक्षसँग खरिद सम्झौता सम्पन्न भई रकमसमेत भुक्तानी भइसकेकाले खरिद प्रक्रिया टुङ्गिएको जनाएको हो ।
सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले चीनबाट ३ सय ४२ टन स्वास्थ्य सामग्री सरकार–सरकार (जीटुजी) प्रक्रियाबाट खरिद गर्ने चरणमा प्रवेश गरिएको जानकारी दिए । ६७ प्रकारका स्वास्थ्य सामग्री खरिद गरेर सेनाले ल्याउनेछ । स्वास्थ्य सामग्री खरिदका लागि चीन सरकारको स्वामित्वमा रहेको चाइना साइनोफार्म इन्टरनेशनल कर्पोरेसनसँग सम्झौता भइसकेको छ ।
नेपाल र चीनबीच भएको सम्झौतामा रकम भुक्तानी गरेको एक साताभित्र सबै सामग्री चिनियाँ पक्षले ग्वान्झाउमा जम्मा गरिदिने उल्लेख छ । सोहीअनुरुप अबको एक साताभित्र चिनियाँ पक्षले ती स्वास्थ्य सामग्री ग्वान्झाउमा जम्मा गरिदिनेछ । तातोपानी नाकाबाट सामान ल्याउन ढिलो हुने भएकाले सेनाले विमानबाट सामान ल्याउने तयारी गरेको छ ।
ग्वान्झाउबाट तातोपानी नाकासम्म सामान ढुवानी गर्न करिब सात दिन लाग्नेछ । त्यस्तै भन्सार प्रक्रिया पूरा गर्न दुई दिने लाग्नेछ । अत्यावश्यक सामग्री हवाइ मार्गबाट ल्याउने विषयमा हवाइ सेवा प्रदायकसँग छलफल भइरहेको सेनाले जनाएको छ । सेनाले नेपाल एयरलाइन्स र श्री एयरसँग छलफल गरिरहेको छ । अत्यावश्यकबाहेकका सामग्री सडक मार्गबाट ढुवानी गर्न सकिने विषयमा पनि सेनाले छलफल जारी राखेको छ । बेइजिङस्थित नेपाली दूतावास तथा ग्वान्झाउस्थित महावाणिज्य दूतावासमार्फत पनि चिनियाँ ढुवानीकर्तासँग बुझ्ने काम भइरहेको सेनाले जनाएको छ ।
अत्यावश्यक सामग्री तातोपानी नाकामा ल्याएर अर्को गाडी राखेर नेपाल ल्याउनेभन्दा पनि सकभर चिनियाँ ढुवानीकर्ताको साधनबाट एकैचोटि डिपोमा ल्याउने ढंगबाट कुराकानी अगाडि बढेको सेनाको दाबी छ । चीन सरकारले नेपाललाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन प्राथमिकता दिएको छ । कोरोनाले विश्वव्यापी महामारीको रुप लिएसँगै प्रभावित मुलुकमा चीनले स्वास्थ्य सामग्री आपूर्ति गरिरहेको छ । महामारीको अवस्थामा चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने मुलुकको सूचीमा नेपाल ८१औँ स्थानमा छ । तर, चिनियाँ पक्षले नेपाललाई जतिसक्दो चाँडो आवश्यक सामग्री उपलब्ध गराइदिने वचनबद्धता व्यक्त गरेको छ । छिमेकी भएको कारण ८१औं सूचीमा रहे पनि पहिला नै नेपाललाई सामान दिने प्रतिबद्धता चीनले जनाएको हो ।
व्यक्तिगत सुरक्षाका सामग्री (पीपीई), मास्क, कोरोना परीक्षणका लागि आवश्यक कीटलगायत अत्यावश्यक सामग्री हवाइ र अन्य सामग्री सडक मार्ग हुँदै ल्याउने तयारी गरिएको छ । नेपालमा कोेभिड–१९ सङ्क्रमणको अवस्था सामान्य रहेमा अत्यावश्यकबाहेकका सामग्री सडक मार्ग हुँदै ल्याइनेछ भने अवस्था जटिल बन्दै गएमा हवाइ मार्गबाट पनि ल्याउने गरी तयारी अगाडि बढाइएको सेनाले जनाएको छ । सेनाले भारतबाट कोभिड–१९ का बिरामीलाई दिइने औषधि खरिद गर्ने विषयमा पनि छलफल गरिरहेको छ । सरकारले भारतबाट ५३ प्रकारको औषधि ल्याउने तयारी गरेको छ । भारतीय पक्षबाट हालसम्म कुनै जानकारी नआएको सेनाले जनाएको छ ।