काठमाडौं । दुई दशकअघिसम्म सामान्य व्यवसाय गर्ने ललितपुर धापाखेलका भरत महर्जनले पछिल्लो १० वर्षमा धापाखेलमा सुमेरु अस्पताल, पुल्चोकमा सुमेरु सिटी अस्पताल, सातदोबाटोमा एसियन कलेज, सुमेरु ग्रुपका नाममा हाउजिङ, मनी एक्सचेन्ज, टुर एण्ड ट्राभल्स कम्पनी लगायत खडा गरेका थिए ।
‘राम्रो गर्नु र राम्रो हुनु नै हाम्रो जीवनको एक मात्र लक्ष्य हुनुपर्छ’ भन्ने जीवन मन्त्रकै कारण आफू यो अवस्थामा आउन सफल भएको भरतले सुनाउँथे । उनले सहकारीमा सर्वसाधारणले बचत गरेको १० अर्बभन्दा बढी रकम अपचलन गरेर आफ्नो निजी कम्पनीहरू खडा गरेको खुलासा भएको छ । अहिले बचतकर्ताले आफ्नो रकम खोज्न थालेपछि उनी उपचारको बहाना बनाएर परिवारसहित बेलायत पलायन भएका छन् ।
महर्जनले २०६८ सालमा धापाखेलमा ३०० शय्याको सुमेरु सामुदायिक अस्पताल स्थापना गरे । २०६९ मा पुल्चोकमै १०० शय्याको सुमेरु सिटी अस्पताल खोले । सुमेरु मेडिकल कलेज, एसियन कलेज अफ एडभान्स्ड स्टडिज, शंकरापुर एकेडेमी, रिसोर्ट, कृषि फार्म खोले ।
उनले ललितपुरको २३ नम्बर वडा कार्यालय, श्रीकृष्ण उच्च माध्यमिक विद्यालय, सातदोबाटोस्थित महानगरीय ट्राफिक प्रहरी कार्यालय भवन र सातदोबाटोकै महानगरीय प्रहरी वृत्तको भवन निर्माणमा अगुवा बनेर स्थानीयमाझ समाजसेवीको छवि पनि बनाएका थिए ।
सफल व्यवसायी र समाजसेवीको छवि देखाएर राजनीतिक पहुँच भएका उनले बचतकर्ताको विश्वास जितिरहे । ‘मैले आफ्नो, श्रीमान् र छोराछोरी सबै गरेर डेढ करोड रुपैयाँ राखेको छु’ एक बचतकर्ताले भनिन, ‘ कलेज, अस्पताल सबै सम्पत्ति सहकारीकै हो, पैसा डुब्दैन भन्नुभयो । होला त भनेर विश्वास गर्दा अहिले दुःख पाइयो ।’