काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत करिब एक दशकदेखि अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको ‘साथ’ हकुना मटाटालाई आर्थिक सहयोगस्वरूप एक लाख ३२ हजारको चेक हस्तान्तरण गरेको छ । सीमान्तकृत समूहका बालबालिकालाई आर्थिकरूपमा विपन्न र शारीरिक अपाङ्गता भएका बालबालिकालाई उचित शिक्षा र स्वास्थ्य उपचार प्रदान गर्न मद्दत गर्दछ र बचत खाता खोली वार्षिकरूपमा निश्चित रकम जम्मा गर्ने गर्दछ र सोही रकमबाट उक्त बालबालिकाहरुको शिक्षा, स्वास्थ्यलगायतका आवश्यक क्षेत्रमा प्रयोग गर्दछ ।
एक समारोहका बीच बैंकले एक लाख ३६ हजारको चेक ‘साथ’का कार्यक्रम प्रबन्धक समीक्षा शर्मालाई हस्तान्तरण गरेको हो । साथ हकुना मटाटामा रहेका ११ जना बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा कार्यक्रम प्रबन्धक समीक्षा शर्माले जानकारी दिइन् ।
आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको कुरा जानकारी गराएको छ । बैंकले देशैभर फैलिएका आफ्ना एक सय ८५ वटा शाखा, एक सय ४१ वटा एटीएम तीनवटा विस्तारित काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १५ लाख ९० हजारभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको जानकारी दिएको छ ।