काठमाडौं । नबिल बैंक लिमिटेडले “नबिल ग्रिन विक” को कार्यक्रम सुरु गरेको छ । नबिल सस्टेनेबल बैंकिङको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा ‘नबिल ग्रिन विक’का कार्यक्रम सुरु गरेको हो । नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल र प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले संयुक्तरूपमा बैंकको प्रधान कार्यालयमा दिगोपनप्रति प्रतिबद्धतासहितको एसडीजी गोल्स पेन्टिङ अनावरण गरी “नबिल ग्रिन विक” अभियानको उद्घाटन गरेका हुन् ।
बैंकले १५ असारदेखि २१ असारसम्म नबिल ग्रिन विकमा केन्द्रित कार्यक्रम राखेको छ । यो साताव्यापी उत्सवमा नबिलले लाजिम्पाट–पानीपोखरी–महाराजगञ्ज सडकखण्डमा वृक्षारोपण गर्ने, हरियो पहिरन लगाउने, टिकटक अभियान सञ्चालन गर्ने योजना बनाएको छ । नबिलको मुख्य कार्यालय परिसरमा दिगो उत्पादन र साझेदारहरूको अभ्यासलाई प्रवर्द्धन गर्न प्रदर्शनी गर्ने कार्यक्रम रहेको बताइएको छ ।
उद्घाटन कार्यक्रममा अध्यक्ष पौड्यालले नबिलले ‘थ्रिपीज’ ‘पिपुल, प्लानेट र प्रस्पेरिटी’ मा काम गरिरहेको बताए । उनले दिगो बैंकिङको अवधारणालाई आत्मसाथ गर्दै पर्यावरणको ख्याल गरे मात्र देशमा समृद्धि ल्याउन सकिने भएकाले नबिलका कार्यक्रम त्यतातर्फ केन्द्रित गरिएको बताए । अध्यक्ष पौड्यालले बैंक रणनीतिकरूपमा दिगो व्यवसायमा केन्द्रित रहेको जानकारी गराए । “हामीले दिगो उपायहरू अपनाउने तथा दीर्घकालीन वातावरणीय, सामाजिक र आर्थिक पक्षहरूलाई मद्दत गर्ने परियोजनाहरूलाई समर्थन गर्न हाम्रो ध्यान केन्द्रित गरेका छौँं पौड्यालले भने ।
नबिल सस्टेनेबल बैंकिङ आफ्नो स्थापनाकालदेखि नै सामाजिक र वातावरणीय चुनौतीहरूलाई सम्बोधन गर्ने क्रममा दिगो अभ्यासहरूलाई प्रवर्द्धन गर्न अग्रपङ्क्तिमा रहेको बैंकले जनाएको छ । नबिल सस्टेनेबल बैंकिङको दोस्रो वर्ष पूरा गरेकोमा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले सामाजिक तथा वातावरणीय क्षेत्रमा बैंकले आफ्नो भूमिका देखाउँदै गएको बताए । यो ग्रिन विक सप्ताहले बैंकिङ क्षेत्रमा वातावरणीय र सामाजिक चेतनामा नबिलको उल्लेखनीय उपलब्धि र योगदानलाई उजागर गर्ने उनको भनाइ छ ।
सीईओ ढुंगानाले नबिलले गर्दै आएको रेनवाटर हार्बेस्टिङ, पेपरलेस बैंकिङ, कम कागज प्रयोग गर्ने अभ्यास, नवीकरणीय ऊर्जामा केन्द्रित, नबिल सामाजिक उद्यमशीलता कार्यक्रमद्वारा दिगो विकासका कार्यक्रमलाई केन्द्रित गरेको बताए । नबिल सस्टेनेबल बैंकिङ भर्टिकलले दिगो अभ्यासलाई प्रवद्र्धन गर्ने, आर्थिक वृद्धिमा टेवा पु-याउने र भावी पुस्ताका लागि वातावरण संरक्षण गर्ने पहलहरूमा निरन्तरता दिने उनको भनाइ थियो । बैंकका अनुसार दिगो बैंकिङको प्रमुख उपलब्धिको शाखारहित बैंकिङ विस्तार रहेको छ । विपन्न र सीमान्तकृत समुदायमा वित्तीय सेवाहरूको पहुँच बढाउन ग्रामीण बैंकिङ सेवा विस्तार रहेको छ । त्यसका साथै बैंकले समाजका विभिन्न क्षेत्रहरूमा वित्तीय ज्ञान र सिपहरू अभिवृद्धि गर्न वित्तीय साक्षरतामा समेत जोड दिँदै आएको छ ।
नबिल सस्टेनेबल बैंकिङले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जाजस्ता नवीन, सामाजिक र वातावरणमैत्री उत्पादनहरू ल्याएको छ । जसले किसान र उद्यमीहरूको विशेष आवश्यकताहरू पूरा गर्ने गरेको बैंकले जनाएको छ । ग्राहकलाई वातावरणमैत्री र ऊर्जा दक्ष आवास समाधानमा लगानी गर्न, आवासीय भवनहरूको कार्बन फुटप्रिन्ट घटाउन र हरियाली भविष्यमा योगदान पु¥याउन नबिलले भर्खरै नबिल सस्टेनेबल हाउजिङ लोन सुरु गरेको जानकारी गराइएको छ । नेपाल सरकारले अवलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको थियो ।