प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरको ब्रिफिङ सुनेपछि आश्चर्यचकित भएका छन् ।गत सोमबार आर्थिक दैनिकमा प्रकाशित समाचारको विषयलाई लिएर प्रधानमन्त्री प्रचण्डले सोही साँझ आईजीपी कुँवरसँग आकस्मिकरूपमा ब्रिफिङ लिएका थिए । बालुवाटारमा ब्रिफिङ सकेपछि आईजीपी कुँवरले कांग्रेस सभापति देउवालाई निवासमै पुगेर उक्त समाचारसँग सम्बन्धित विषयमा ब्रिफिङ गरेका थिए ।
त्यसदिन बिहान आर्थिक दैनिकले ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन’ शीर्षकमा समाचार प्रकाशित भएको थियो । उक्त समाचार सार्वजनिक भएपछि हल्लीखल्ली भएको थियो । प्रधानमन्त्री प्रचण्ड एकातिर आइतबार राति अबेरसम्म गृहमन्त्री आफूसँगै रहेको र त्यस्तो कुरा नबताएको भनी आफ्ना निकटस्थहरूलाई बताउँदै थिए भने अर्कातिर गृहसचिवलाई फोन गरेर समाचार खण्डन गर्न निर्देशन दिएका थिए ।
कांग्रेस नेतृ डा. आरजु राणा देउवा र नेता कृष्णप्रसाद सिटौलाका पक्षबाट पनि प्रधानमन्त्री प्रचण्डसँग सम्पर्क स्थापित भएको थियो र समाचारमा सत्यता नभएको भनी प्रधानमन्त्री प्रचण्डले जवाफ दिने गरेको र प्रधानमन्त्री प्रचण्डकै निर्देशनमा नेतृ आरजुको तर्फबाट स्वकीय सचिव कमल रावलले र कृष्णप्रसाद सिटौला आफैँले आर्थिक दैनिकको उक्त समाचारविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी गरेका थिए ।
डा. आरजुको तर्फबाट स्वकीय सचिव रावलले दर्ता गरेको उजुरीमा समाचार तथ्यहीन, भ्रामक र चरित्रहत्या गर्ने उद्देश्यले नियोजितरूपमा प्रकाशन गरिएकाले कारबाही गर्न माग गरिएको थियो भने नेता सिटौलाले दर्ता गराएको पत्रमा ‘मेरो इमान्दारितामाथि प्रश्न उठाउँदै केही निहित व्यक्तिको राजनीतिक अभीष्ट पूरा गर्न ममाथि दूराशययुक्त भावनाले लगाइएको कथित झुट आरोप, राजनीतिक दाउपेचमा आधारित भएर गरिएको प्लटिङयुक्त समाचार हो’, भनिएको थियो ।
समाचार प्रकाशित भएकै दिन गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता केदारनाथ शर्माले झुटो, निराधार र भ्रमपूर्ण भनी समाचारको खण्डन गरेका थिए र सरकारी सञ्चारमाध्यमहरूको दुरुपयोग गरी त्यसलाई व्यापकरूपमा प्रशारण गरिएको थियो भने पोलिटिकल इन्टेलिजेन्स मार्काका व्यक्तिहरूलाई त्यसको व्यापकरूपमा सेयर गर्न लगाइएको थियो ।
कतिपय पत्रकारको भेषमा रहेकाहरूले पनि केहीले आँखा देखिनँ, यो सत्य होला त केहीले यो सत्य होइन भनेर आर्थिक दैनिकको समाचार सेयर वा सेयर गरेको समाचारमा प्रतिक्रिया दिएका थिए ।प्रेस काउन्सिलले तत्काल खण्डन गरी २४ घण्टाभित्र काउन्सिललाई जानकारी गराउन आर्थिक दैनिकका सम्पादकको नाममा निर्देशन दियो र त्यसको बोधार्थ उजुरीकर्ताद्वय कृष्णप्रसाद सिटौला र कमल रावललाई दियो ।
समाचारले हल्लीखल्ली मच्चाएपछि त्यसको सबैभन्दा बढी असर प्रधानमन्त्री प्रचण्डलाई परेको थियो । के भएको हो भनेर बुझ्न प्रधानमन्त्री प्रचण्डले आईजीपी कुँवरलाई बोलाएपछि ब्रिफिङ गर्न उनी प्रधानमन्त्रीसामु पुगेका थिए । प्रधानमन्त्री प्रचण्डले वास्तविकता के हो भनी सोधेपछि आईजीपी कुँवरले उहाँहरू दुवै जनालाई पक्राउ गर्न गृहमन्त्रीद्वारा एआईजी श्यामलाल ज्ञवालीलाई ठाडो निर्देशन भएको र त्यहीअनुसार एआईजी ज्ञवालीद्वारा शनिबार दिउँसो मातहतको प्रहरी नेतृत्वलाई निर्देशन भएको तर पक्राउ गर्ने मापदण्ड नमिलेकाले पक्राउ गर्न नसकिएको कुरा सविस्तार ब्रिफिङ गरेपछि प्रधानमन्त्री प्रचण्ड आश्चर्यचकित बनेका थिए ।
प्रधानमन्त्री प्रचण्डलाई ब्रिफिङ सकेपछि आईजीपी कुँवरले काँग्रेस सभापति शेरबहादुर देउवालाई घटनाको सत्यतथ्य विवरण ब्रिफिङ गरेको उच्च स्रोतले जानकारी दिएको छ । आईजीपी कुँवरको ब्रिफिङ सुनेपछि सभापति देउवा पनि आश्चर्यचकित मात्र होइन आक्रोशित नै बनेको समाचार स्रोतले जनाएको छ ।
उक्त समाचार सार्वजनिक भएपछि तपाईँले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उहाँहरूको निवासमा पुगेर छुट्टाछुट्टैरूपमा घटनाको सत्यताबारे ब्रिफिङ गरेको सूचना आएको छ, के त्यो सत्य हो भनी आर्थिक दैनिकले सोधेको प्रश्नमा महानिरीक्षक कुँवरले आफूलाई बोलावट भएको र ब्रिफिङ मागेकाले प्रधानमन्त्री प्रचण्ड र कांग्रेसका सभापति देउवासमक्ष घटनाको ब्रिफिङ गरेको स्वीकार गरेका छन् ।
प्रधानमन्त्री प्रचण्ड र सभापति देउवासमक्ष आईजीपी कुँवरले समाचारमा भनिएका व्यक्तिहरूलाई पक्राउ गर्न निर्देशन भएको कुराको किटानीका साथ ब्रिफिङ भइसकेपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीले कुनै पनि कोणबाट पुष्टि नहुने झुटो भ्रमपूर्ण, तथ्यहीन, काल्पनिक र भ्रामक सामग्री भनी उक्त समाचारको खण्डन गरेका छन् । आईजीपी कुँवरको ब्रिफिङपछि त्यस्तो निर्देशन दिनुपछाडिको रहस्य पत्ता लगाउन प्रधानमन्त्री प्रचण्ड, सभापति देउवा र नेता सिटौलाले आ–आफ्नो ठाउँबाट अधिकतम शक्ति लगाइरहेको स्रोतको दाबी छ ।
यो पनि पढ्नुहोस
ललिता निवास प्रकरणमा समाजवादीसँग प्रधानमन्त्री प्रचण्डको बार्गेनिङ, माधव नेपाल र बाबुराम संकटमा
नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन, प्रहरी नेतृत्व हिच्किचायो