दोलखा । चालू आर्थिक वर्ष २०७९/०८० मा दोलखाको बैतेश्वर गाउँपालिकाले एक करोड बढी राजस्व संकलन गरेको छ । पालिकाले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म एक करोड तीन लाख ९८ हजार चार सय ६१ रुपैयाँ राजस्व संकलन गरेको हो ।
आन्तरिक आम्दानीको स्रोत न्यून रहेको गाउँपालिकाले गत वर्षको तुलनामा चालू आवमा राजस्व संकलन वृद्धि गरेकोे छ । गत आर्थिक वर्ष २०७८/०७९ मा पालिकाले करिब ९८ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । पालिकाको वडागत तथा पालिकागत शीर्षकको आन्तरिक आम्दानी सार्वजनिक गर्दै गाउँपालिकाका लेखापाल गोविन्द बुढाथोकीले गत वर्षभन्दा चालू वर्ष केही राजस्व बढेको जानकारी दिए । गाउँपालिका भित्रका आठ वडाबाट ४० लाख ४७ हजार पाँच सय ६१ रुपैयाँ राजस्व संकलन भएको छ । वडागतरूपमा सबैभन्दा बढी राजस्व संकलन वडा नम्बर–३ मिर्गेले गरेको छ भने सबैभन्दा कम राजस्व संकलन गर्ने वडामा वडा नम्बर–२ बाट भएको छ । वडा नम्बर–३ ले पाँच लाख ९६ हजार रुपैयाँ राजस्व संकलन गर्दा वडा नम्बर–२ ले दुई लाख २५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यस्तै, वडा नम्बर–१ ले तीन लाख १८ हजार रुपैयाँ, वडा नम्बर–४ ले चार लाख ६० हजार रुपैयाँ, वडा नम्बर–५ ले चार लाख २० हजार रुपैयाँ, वडा नम्बर–६ ले चार लाख ४५ हजार रुपैयाँ, वडा नम्बर– ७ ले पाँच लाख पाँच हजार रुपैयाँ र वडा नम्बर–८ ले चार लाख ८६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
वडाहरूले मालपोत दस्तुर, सिफारिस दस्तुर, सम्पत्ति घर/जग्गा दस्तुर, घर बहाल कर, नक्सापास दस्तुर, व्यवसाय दर्ता तथा नवीकरण शुल्क, प्रशासनिक शुल्कलगायतको राजस्व शीर्षकमार्फत उक्त रकम जम्मा गरेका हुन् ।