काठमाडौं । नेपाल उद्योग परिसंघले अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीति ल्याउन गभर्नर महाप्रसाद अधिकारीलाई सुझाव दिएका छन् । आइतबार अधिकारीसँगको भेटमा परिसंघको टोलीले खुकुलो मौद्रिक नीति ल्याउन आग्रह गरेका हुन् ।
परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वमा गएको टोलीले निजी क्षेत्रको घटेको मनोबल बढाउने गरी नीति बनाउन आग्रह गरे । पहिले तरलताको अभाव हुँदा लगानी विस्तार गर्ने योजना उद्योगीहरूले स्थगित गरेको जानकारी गराउँदै अध्यक्ष अग्रवालले हाल तरलता भए पनि कर्जाको उच्च ब्याज तथा चालू पुँजी कर्जाका विभिन्न प्रावधानका कारणले कर्जा लिन नसकेको बताए ।
आगामी आर्थिक वर्षमा सरकारले राखेको छ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न, निजी क्षेत्रको मनोबल बढाउन तथा अर्थतन्त्रलाई चलायमान बनाउन खुकुलो मौद्रिक नीतिको अपेक्षा निजी क्षेत्रले गरेको उनले बताए । लक्षित आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको कर्जा कम्तीमा १२ प्रतिशतले वृद्धि गर्नुपर्ने र कर्जा विस्तार गर्दा उत्पादमूलक क्षेत्रमा जोड दिनुपर्ने उनको भनाइ थियो । उनले स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन उत्पादनमूलक क्षेत्रमा जाने कर्जाको ब्याजदर कम हुनुपर्ने आवश्यकता पनि औँल्याए ।
सो अवसरमा गभर्नर अधिकारीले परिसंघले अध्ययन गरेर नीतिगत सुझाव दिने गरेको भन्दै आगामी दिनमा पनि यस्तै अपेक्षा गरेको बताए । मुल्यवृद्धि र बाह्य क्षेत्रमा पर्न सक्ने दबाबतर्फ सजक भइरहनुपर्ने उनले उल्लेख गरे । भेटमा उपाध्यक्षहरू वीरेन्द्रराज पाण्डे, अमित मोर, पदाधिकारी समितिका स्थायी आमन्त्रित सदस्य छाया शर्मा, राष्ट्रिय परिषद् सदस्यहरू अनलराज भट्टराई, प्राशी अग्रवाल सहभागी थिए ।