काठमाडौं महानगरपालिकाले ठमेलमा रहेको जेपी स्कुलको जग्गा लिजमा दिएको, सटर भाडामा लगाएको र भौतिक पूर्वाधार निर्माणलगायतको विषयमा १५ दिनभित्र प्रतिवेदन पेस गर्न छानबिन समिति बनाएको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको सचिवालय सदस्य रहेका कुमार व्यन्जनकारको संयोजकत्वमा गठित उक्त समितिमा शिक्षा सल्लाहकार रेशु अर्याल ढुंगाना, देवेन्द्रमान सिंह, चार्टर्ड एकाउन्टेन्ट सुरज निरौला र महानगरपालिकाका निर्देशक यादव घिमिरे रहेका छन् । असार ५ गते गठित उक्त समितिका सदस्य अर्यालले राजीनामा गरे पनि समितिले काम सुरु गरिसकेको छ ।