काठमाडौं,बैशाख ११ बुधबार उदयपुरमा थप तीन जना कोरोना भाइरस कोभिड–१९ का संक्रमित फेला परेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । उदयपुरको त्रियुगा नगरपालिका झुल्केमा रहेको मस्जिदमा बसेका र उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुमा कोरोना देखिएको हो । ती अधिकांश भारतीय नागरिक छन् ।बुधबारसम्म कोरोना संक्रमितको संख्या ४५ पुगे पनि बुधबार नै थप दुई जना कोरोनाबाट मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा काठमाडौंको टेकु अस्पतालबाट एक जना र धनगढीको सेती अस्पतालबाट एक जना गरी दुई छन् । यसअघि धनगढीबाटै दुईजना, काठमाडौंबाट दुई जना र बाग्लुङबाट एकजना डिस्चार्ज भएका थिए । उदयपुरमै मंगलबार ११ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । यसअघि १३ जनामा पुष्टि भएको थियो । यसअघि कोरोना पुष्टि भएका सबै भारतीय नागरिक हुन् । उनीहरु सबैलाई उपचारका लागि कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको छ ।उदयपुरको संक्रमणले नेपालमा कोरोना तेस्रो चरणमा पुगेको अनुमान गरिएको छ । विदेशबाट आउनेलाई कोरोना लागेको छ भने त्यसलाई पहिलो चरण, उनीहरुले आफ्नो सम्पर्कमा आएकाहरुलाई सर्नुलाई दोस्रो चरण र समुदायमा सर्नुलाई तेस्रो चरण भनिन्छ । यसैबीच, त्रियुगा नगरपालिकाको ३ नं वडालाई पूर्ण रूपमा सिल गरी त्यहाँका सम्पूर्ण नागरिकको आवातजावतलाई ठप्प गरी आवश्यक सामग्री जनप्रतिनिधिको सहयोगमा प्रहरीले उपलव्ध गराइएको छ । त्यहाँका सर्वसाधारण नागरिकले पनि बन्दाबन्दीलाई पूर्ण पालना गर्दै घरभित्र बसेर पूर्ण सहयोग गरिरहेका छन् । उक्त क्षेत्रमा बस्ने मुस्लिम समुदायका ५२ घरपरिवार र अन्य समुदायका थ्रोट स्वाब नमूना परीक्षण (पिसीआर) गर्ने कार्य द्रुतगतिमा भइरहेको छ । थ्रोट स्वाब लिएको नमूनाको (पिसीआर) परीक्षण विराटनगरको कोशी अस्पताल र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानमा भइरहेको छ । उदयपुर जिल्लामा प्रहरीले बन्दाबन्दीको पूर्ण पालना गराइनुका साथै अति आवश्यक सामग्री खरीद गर्न केही छुट दिएको छ ।