काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेड र मेगा क्यापिटल मार्केट्स लिमिटेडको एकीकृत कारोबार सुरु भएको छ । एनआईबिएलले मेगालाई प्राप्ति (एक्विजिसन) गर्ने सम्वन्धमा दुवै संस्थाकोे २०८० जेठ २९ गते सम्पन्न विशेष साधारण सभाको निर्णयद्वारा पारित प्रस्तावबमोजिम एनआईबिएल एस क्यापिटल लिमिटेडमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने निर्णय गरेको र गाभिने कम्पनीको सम्पूर्ण सम्पत्ति तथा दायित्वसमेत आफूले सकार्ने निर्णयसमेत गरेको हो ।
प्राप्ति (एक्विजिसन)पश्चात् कम्पनीको चुक्ता पुँजी ४७ करोड हुने, चार लाख ८५ हजारभन्दा बढी हितग्राही खाता, सातवटा शाखा कार्यालयहरू र ५५ वटाभन्दा बढी कम्पनीको सेयर रजिस्ट्रार कार्यमार्फत करिब २५ लाखभन्दा बढी सेयरधनीलाई सेवा प्रदान हुने भएको छ । यस प्राप्ति (एक्विजिसन)पश्चात् हाल गर्दै आएको मर्चेन्ट बैंकिङ तथा इन्भेस्टमेन्ट बैंकिङ व्यवसायमा गुणात्मक असर पर्नुका साथै प्रदान भइरहेका सेवाहरू अझ सुदृढ र सशक्तरूपमा विस्तार हुँदै धितोपत्र बजारमा आफ्नो विशिष्ट पहिचान बनाउन सकिने विश्वास समेत क्यापिटलले लिएको छ । प्राप्ति (एक्विजिसन)पश्चात् साविकको एनआईबीएल एस क्यापिटल लिमिटेडको नाम समेत एनआईएमबी एस क्यापिटल लिमिटेड हुने गरी परिवर्तन गर्न कम्पनी रजिस्ट्रारको कार्यालयबाट यही असार ११ गते स्वीकृति प्राप्त भइसकेकोे छ । साविकका दुवै संस्थाहरूको यही असार १२ गते बसेको सञ्चालक समितिको छुट्टाछुट्टै बैठकको निर्णयबमोजिम प्राप्तिपश्चात् परिवर्तित नाम ‘एनआईएमबि एस क्यापिटल लिमिटेड’बाट असार १८ गते सोमबारदेखि एकिकृत व्यवसाय/कारोबार सुरु गरेको हो ।