काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकले काठमाडौंस्थित नयाँ बानेश्वर र महाराजगञ्जमा सञ्चालित कोरियन स्किन हस्पिटल लेटमी इनमा सेवा लिँदा छुट पाउने भएका छन् । एनआईसीका ग्राहकले यहाँको सेवामा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने गरी समझदारी भएको बैंकले जनाएको छ ।
सोसम्बन्धी समझदारीपत्रमा बैंकको तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख विमल लम्साल र हस्पिटलको तर्फबाट निर्देशकमा दोङसुले हस्ताक्षर गरेका हुन् । समझदारीअनुसार बैंकमा खाता सञ्चालन गरी मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरेका ग्राहकहरूले यो फाइदा उपभोग गर्न सक्ने छन् । जसअन्तर्गत सबै प्रकारका फेसियल र उपचारमा योछुट उपलब्ध गराउने बारे दुवै पक्षबीच समझदारी भएको बैंकले जनाएको छ । डिजिटल च्यानलबाट हुने कारोबारलाई वृद्धि गर्दै डिजिटल भुक्तानीलाई बढीभन्दा बढी सेवाग्राहीसम्म पु-याउने हेतुले बैंकले यस यस्तो सम्झौता गरेको बताएको छ ।
एनआईसी एसिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जाल भएको बैंकमध्येको एक हो । बैंकले मुलुकभर तीन सय ६० शाखा कार्यालयहरू, चार सय ७३ वटा एटीएम, एक सय १० वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिकरूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको बैंकको दाबी छ ।