काठमाडौं,बैशाख ११
भीमदत्त नगरपालिकाको पहलमा कोरोना भाइरस (कोभिड १९) संक्रमण मध्यनजर गरी महाकाली अस्पतालका लागि संकलन गरिएका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।भीमदत्त नगरपालिकाकी उपप्रमुख सुशीला चन्दले अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई पीपीई र मास्क हस्तान्तरण गरेकी हुन् । इन्टरनेशनल पब्लिक स्कुलले अस्पतालका लागि ३५ थान पीपीई र एक सय थान मास्क दिन भीमदत्त नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।
अध्यक्ष जोशीलाई हस्तान्तरण गर्न अघि इन्टरनेशनल स्कुलका प्रबन्धनिर्देशक महाशर्मा न्यौपानेले नगर उप प्रमुख चन्दलाई सामग्री हस्तान्तरण गरेका थिए । सामग्री हस्तान्तरणपछि नगर उपप्रमुख चन्दले कोरोना महामारी विश्व मानव समुदायका लागि चुनौतीका रुपमा देखा परेको उल्लेख गर्दैै सबै क्षेत्र, व्यक्तिले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्ने बताइन् ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले केही दिनअघि कोरोना संक्रमणलाई मध्यनजर गरी निजी शिक्षण संस्थाका संगठन प्याब्सन र एन प्याब्सनसँग अस्पतालका लागि स्वास्थ्य सामग्रीलगायत सहयोग जुटाउन छलफल गरेका थिए । निजी शिक्षण संस्थाहरुले छलफलमा अस्पताल र नगरपालिकालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरेका थिए । छलफलमा गरिएको प्रतिबद्धताअनुसार इन्टरनेशल पब्लिक स्कुलले अस्पतालका लागि नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । भीमदत्त नगरपालिकाले कोरोना संक्रमण रोकथामसहित अस्पताल सुधारका लागि सहयोग गर्दैै आएको छ ।