दोलखा। सिँचाइको अभावका कारण असारको तेस्रो सातासम्म पनि दोलखामा ४३ प्रतिशत मात्रै रोपाई भएको छ । सिँचाइको अभावकै कारण गत वर्षको तुलनामा यस वर्ष कम रोपाइँ भएको हो । गत वर्ष यही समयसम्म करिब ५५ प्रतिशत रोपाइँ सकिएको थियो ।
नेपालमा ढिलो मनसुन सुरु भएका कारण किसानले यस वर्ष ढिलो रोपाइँ सुरु गरेको कृषि ज्ञान केन्द्र रामेछापको सम्पर्क कार्यालय दोलखाले जनाएको छ । कार्यालयका अनुसार जिल्लाभर सिँचाइका सुविद्या भएको ४३ प्रतिशत भूभागमा रोपाइँ सकिएको हो । सिँचाइ पहुँच र सिमक्षेत्रमा रोपाइँ सकिए पनि मुख्य धान हुने फाँटका खेतहरूमा अझै रोपाइँ सुरु हुन नसकेको केन्द्रले जनाएको छ । कार्यालयका कृषि विकास अधिकृत नन्दराज ओलीका अनुसार दोलखाका धेरैजसो ठाउँमा सिँचाइ अभावका कारण धान रोपाइँ गर्न आकाशे पानीको भर पर्नुपर्छ । समयमा नै पानी नपरेकाले खेतमा कम रोपाइँ भएको उनको भनाइ छ ।
जिल्लामा यस वर्ष दुई हजार ९०१ हेक्टर भूभागमा धान खेती हुने अनुमान गरिएको छ । गत वर्ष तीन हजार दुई हेक्टर भूभागमा धानखेती भएको थियो । आकाशे पानीको भरमा यहाँ साउनको अन्तिमसम्म पनि रोपाइँ गर्ने गरिन्छ । सिँचाइको पहुँच भएका स्थानमा अहिले रोपाइँ जारी छ । जिल्लाको निम्कोट, गोपी, बैती, जिलु, चनौटे, गैरीलगायतका खेतमा रोपाइँ सकिएको छ । अन्य क्षेत्रमा भने वर्षा भर्खरै सुरु भएकाले धमाधम रोपाइँ भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।