काठमाडौं । अहिलेसम्म बाढी–पहिरोबाट ४ करोड ८० लाख बराबर क्षति भएको गृह मन्त्रालयले जानकारी दिएको छ। मनसुन सुरू भएयता बाढी–पहिरोबाट २४ जनाको मृत्यु भएको छ।
पहिरोबाट हालसम्म १५ जनाको मृत्यु र ५ जना बेपत्ता तथा १३ जना घाइते भएको गृह मन्त्रालय अन्तर्गत रहेको पूर्वतयारी तथा प्रतिकार्य शाखाले जानकारी दिएको छ । मृत्यु हुनेमा पुरूष ११ जना र महिला ४ जना रहेका छन्। त्यस्तै पहिरोबाट १३ लाख ४१ हजार ५०० रुपैयाँ बराबरको धनमाल नष्ट भएको बताइएको छ।
बाढीबाट ९ जनाको मृत्यु भएको छ। २० जना बेपत्ता रहेको गृह मन्त्रालयको तथ्यांक छ। पहिरोबाट ४५४ जना परिवार प्रभावित भएको शाखाले जानकारी दिएको छ। मृत्यु हुनेमा पुरूष ५ जना, महिला ३ र पहिचान हुन नसकेको १ जना रहेको गृहमन्त्रालयले जानकारी दिएको छ। बाढीबाट ११२ घर परिवार प्रभावित भएको तथ्यांक छ। बाढीबाट ४ करोड ६६ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको मन्त्रालयले आँकलन गरेको छ।