ओखलढुङ्गा । पूर्वमन्त्री तथा कांग्रेस नेता स्वर्गीय बलबहादुर राईको १३औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले अब पार्टीलाई अघि बढाउन युवाले जिम्मेवारी लिनुपर्नेमा जोड दिएका छन् । राईको सालिकमा माल्यार्पण गर्दै नेता रिजालले अघिल्ला पुस्ताको योगदानको रक्षाका लागि युवा पुस्ता अग्रसर हुनुपर्ने बताए ।
इतिहास मात्रै भजाएर अब कांग्रेस बन्दैन, नयाँ पुस्ताका युवाले जनताको मर्म बुझेर इतिहासको रक्षा गर्दै आगामी योजना तय गर्नुपर्छ । देशमा प्रजातन्त्र प्राप्तिका लागि स्व. राईको योगदान अतुलनीय रहेको बताउँदै उनले प्रजातन्त्रको रक्षाका लागि अहिलेको पुस्ता गम्भीर हुन जरुरी छ भने । कांग्रेसभित्र रूपान्तरणको खाँचो रहेको र त्यसका लागि केन्द्रीयस्तरमा आफूहरु लागेको नेता रिजालको भनाइ थियो ।
पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा समेत नेता रिजालले नयाँ राजनीतिक दलको उदयले पुराना पार्टीलाई थप जिम्मेवार हुन सचेत गराएको उनले उल्लेख गरेका थिए ।
स्व. राई ओखलढङ्गाको विकासका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नाका साथै देशको परिवर्तनका लागि सङ्घर्षरत नेता भएकाले आज पनि उनको योगदानको स्मरण हुने गरेको प्रतिनिधिसभा सदस्य रामहरि खतिवडालले बताए ।
नेता रिजाल, सांसद खतिवडा, संविधानसभा सदस्य प्रमिला राई, जिल्ला समन्वय समितिका प्रमुख डिल्लीराम खनाल, पार्टी जिल्ला सभापति तथा सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनाललगायतले स्वर्गीय नेता राईको सालिकमा माल्यार्पण गरेको बलबहादुर राई स्मृति प्रतिष्ठानका अध्यक्ष शङ्कर खनालले बताए ।
जिल्लामा प्रायः सबैजसो पार्टीले स्व. राईको योगदानको स्मरण गर्ने गर्दछन् ।उन्नाइस पटक देशको कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका नेता राईको वि.सं २०६७ असार २० गते ८९ वर्षको उमेरमा निधन भएको थियो ।