भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्याएको हुँदा बिहीबार साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।
उत्तरपुस्तिका परीक्षणको काम सकिएपछि प्राविधिक काम पनि करिब सम्पन्न भइसकेको, नम्बर कम्प्युटरमा चढाउने, रुजु गर्नेलगायतका प्राविधिक कार्य भइसकेको परीक्षा नियन्त्रणा कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिएका छन् ।
उनले भने, 'प्राविधिक समस्या नआए आजै नतिजा सार्वजनिक हुन्छ । प्राविधिक समस्या आए मात्रै भोलि पुग्ने हो अन्यथा नतिजा आजै सार्वजनिक हुन्छ, त्यसकै तयारीमा हामी जुटेका छौँ । एसईईको नतिजा बिहीबार साँझसम्ममा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेका छौँ ।’
विसं २०७२ को प्रणालीअनुसार सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अङ्क ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था छ । नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई नन ग्रेडेडमा राख्ने व्यवस्था छ । यो व्यवस्था आगामी वर्षदेखि लागू हुने भएको छ ।