विराटनगर,बैशाख ११
कोरोना भाइरस (कोभिड–१९)को महामारीका बीच एक महिना लामो लकडाउन घोषणा गरेको सरकारलाई अपेक्षाकृत खाद्य सामग्रीको आयात नभएको कारण अहिले बजार व्यवस्थापनमा निकै कठिनाइ पर्न थालेको छ ।देश लकडाउनमा गएको एक महिना बितिसक्दा प्रदेश एकको मुख्य भन्सारनाका विराटनगर भन्सार भएर अपेक्षकृत खाद्य सामग्रीको आयात नभएपछि अहिले सरकारलाई बजार व्यवस्थापन तथा आपूर्ति व्यवस्थालाई लिएर थप चुनौती थपिएको हो ।
लकडाउन अझै लम्बिदै जाने हो कि भन्ने त्रासले गर्दा खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तुको आयात, वितरण र बजार व्यवस्थापनमा सरकारलाई थप चुनौतीको सामाना गर्नुपर्ने निश्चित भएको छ । पछिल्लो समय सरकारी ढुकुटीमा रहेको खाद्यान्नको भण्डारणसमेत रित्तिदै जान थालेको सरकारी उच्चस्रोतले बताएको छ ।
सरकारी उच्चस्रोतले दिएको जानकारीअनुसार अहिले सरकारसँग २० हजार मेट्रिकटन चामल, ५५० क्वीन्टल दाल, एक सय ६० मेट्रिकटन नुन र करिब छ हजार मेट्रिकटन चिनी मात्र स्टक रहेको अनुमान गर्न थालिएको छ । नुनबाहेक चामल, दाल, तेल र चिनीको अवस्था पछिल्लो समय अत्यन्त नाजुक रहेको रहस्य खुल्न पुगेको छ ।
यी वस्तुहरूको आपूर्ति व्यवस्थापन सरकारले तत्काल गर्न नसकेमा केही छिटपुट सञ्चालनमा आएको बजारमा भयाभहको अवस्था आउने स्पष्ट रहेको दाबी निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छ । जसले गर्दा सरकारको भण्डारण रित्तिदै जाने र अर्कोतर्फ खाद्यान्नको आयातसमेत अपेक्षा गरेअनुसारको हुन नसक्दा अहिले सरकारमाथि थप दबाब पर्न थालेको दाबी निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छ । सहज अवस्थामा विराटनगर भन्सार नाका भएर दैनिक १० देखि १२ गाडी खाद्यान्य भन्सार नाका हुँदै विराटनगर भित्रिदै आएकोमा लकडाउनपछि हप्तामा ८ देखि १० गाडी मात्र खाद्यान्यको आयात हुँदै आएको कुरा विराटनगर भन्सारका प्रमुख भन्सार अधिकृत शिव भण्डारीले जानकारी दिए । यो अवस्थालाई हेर्दा पनि अव चाँडै खाद्यान्यको अवस्था नाजुक हुँदै जाने अनुमान गर्न थालिएको छ ।
सरकारी निकायको खाद्य व्यवस्था तथा व्यापार कम्पनीकामा समेत करिब २० हजार मेट्रिकटन चामल स्टक रहेको कुरा उच्चस्रोतले बताएको छ । यसले अबको ३–४ महिना मात्र धान्न पुग्ने अवस्था सरकारसँग भएको बताइएको छ । करिब एक महिनादेखि विराटनगर भन्सार नाका हुँदै चामलदेखि अहिले तेल र दालसमेत आयात भएको छैन । तेल र दालको बजारमा अभाव देखिन थालेसँगै अहिले बजारमा खाने तेलको मूल्य वृद्धिसमेत भएको छ । खाद्य सामग्रीमा मुल्यवृद्धि भएको सम्बन्धमा एक उद्योगीले भने पहिले ढुवानीको साधनको दुईतर्फी भाडा म्यानेज हुन्थ्यो । आउदा जाँदा दुवैतर्फ सामान लोड हुन्थ्ये ।
तर, अहिले त्यस्तो अवस्था छैन । अहिले एकतर्फीबाट मात्र सामान ल्याउनु पर्ने र त्यसैमा भाडा म्यानेज गर्नुपर्ने बाध्यता छ । यसले गर्दा बजारमा सामानको भाउ महंगो पर्न गएको हो भनी आफ्नो बचाउ गरेका छन् । खाद्यान्नबाहेक दैनिक उपभोग्य वस्तुभित्र पर्ने नुन, चिनीको अवस्था हेर्दा पनि हाल सरकारसँग १६० मेट्रिकटन नुन र छ हजार मेट्रिकटन चिनी मात्र स्टक रहेको समाचारस्रोतले बताएको छ । जसले गर्दा नुन र चिनीका लागि एकाधिकार पाएको नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनसँग अहिलेको अवस्थामा करिब १० महिनालाई पुग्ने एक सय ६० मेट्रिकटन नुन र एक महिनालाई पुग्ने छ मेट्रिकटन चिनीको स्टक रहेको कुरा उच्च सरकारीस्रोतले बताएको छ । सामान्य अवस्था पनि मासिक २० हजार मेट्रिकटन चिनी खपत हुँदै आएको थियो अब भएको स्टकले कत्ति दिन भ्याउने हो केही थाहा नभएको उच्चस्रोतले बताएको छ ।