काठमाडौं,सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा क्यानडामा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहितको ४३ सदस्यीय जम्बो टोली आज (शुक्रबार)क्यानडा प्रस्थान गर्ने भएको छ ।
सम्पत्ति शुद्धीकरण र वित्तीय अपराध नियन्त्रणमा न्यूनतम सुधारका काम हुन नसक्दा नेपाल नकारात्मक सूची (ग्रे लिस्ट)मा पर्ने जोखिम भएपछि गभर्नरसहितको जम्बो टोली प्रतिरक्षाका लागि क्यानडा जान लागेको बताइएको छ । वित्तीय अपराध नियन्त्रणका लागि समयमै कानुन नबनेको र भएका कानुनको पनि प्रभावकारी कार्यान्वयन नभएको भन्दै सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) अन्तर्गतको एसिया प्रशान्त समूह (एपीजी)ले नेपाललाई नकारात्मक सूचीमा राख्ने प्रतिवेदन दिएको थियो ।
सोही कारण नेपाल एफटीएफको ‘ग्रे लिस्ट’मा पर्ने निश्चितजस्तै छ । एफटीएफको ‘ग्रे लिस्ट’मा परेको अवस्थामा विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र एसियाली विकास बैंकलगायतले ऋण तथा आर्थिक सहायता र अनुदान सहायता बन्द गर्न सक्छन् । त्यसपछि पनि सुधार नभए नेपाल कालोसूचीमा पर्नसक्ने जोखिम हुन्छ ।
गभर्नर अधिकारीको नेतृत्वमा क्यानडा जान लागेको समूहमा प्रधानमन्त्री कार्यालयका सचिव, कानुन मन्त्रालयका सचिव, प्रधानमन्त्री कार्यालयका सचिव, उपमहान्यायाधिवक्ता, केन्द्रीय अनुसन्धान विभागका प्रतिनिधि, सम्पत्ति शुद्धीकरण विभागका प्रतिनिधि, नेपाल धितोपत्र बोर्डका अध्यक्ष, नेपाल बीमा प्राधिकरणका अध्यक्ष, नेपाल प्रहरीका प्रतिनिधि र परराष्ट्र मन्त्रालयका प्रतिनिधि रहेका छन् ।