मोरङ । कोशी प्रदेश सरकार निर्माणमा सभामुखको भूमिका तटस्थ हुनुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बताएका छन् ।
शुक्रबार सञ्चारकर्मीसँग विराटनगर विमानस्थलमा कुरा गर्दै उनले सभामुखले सरकार निर्माणका क्रममा सदस्यको हैसियतले समर्थन गर्नु भोलिका दिनमा अप्ठ्यारो अवस्था सिर्जना हुनसक्ने आशङ्का व्यक्त गरे ।
सरकार निर्माणका क्रममा संसदीय व्यवस्थामा गणितको खेल हुने बताउँदै नेता डा. कोइरालाले यस्ता उतार चढावलाई झेल्दै संसदीय परम्परा र संविधानमा भएका करारलाई टेकेर अगाडि बढ्दै जानुपर्नेमा जोड दिए ।
कांग्रेस लोकतान्त्रिक परिपाटी, ससंदीय अभ्यास र संविधानलाई टेकेर अगाडि बढ्नुपर्छ भन्ने मान्यता राख्ने पार्टी भएको उनले बताए । उनले भने, “कोशी प्रदेश सरकार निर्माणका विषयमा प्रतिपक्ष दल नेकपा (एमाले) सर्वोच्च अदालत जान सक्ने कुरा छ, अदालतको निर्णय हामी सबैले स्वीकार गर्नुपर्छ ।”
एक प्रश्नको जवाफमा नेता डा. कोइरालाले वर्तमान गठबन्धन सरकारलाई अगाडि बढाउनाका साथै बलियो बनाउनुपर्ने र अन्य गठजोडतर्फ सोच्न नहुने बताए । उनले दण्डहीनताको अन्त्य र भ्रष्टाचार मुक्त समाजले मुलुकलाई समृद्धितर्फ डो¥याउने र लोकतन्त्रलाई बलियो बनाउने धारणा राखे ।