काठमाडौं । शुक्रबार प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भन्दै स्थगित भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिएसम्म प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधि सभा बैठक चल्न नदिने अडान राखेको छ।
सङ्घीय संसद् सचिवालयले अर्को बैठक असार २४ गते दिउँसो १ बजेका लागि तोकेको छ । गत असार १८ गते प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह धेरैपटक दिल्ली गएको भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । सिंहकै जीवनीमा आधारित पुस्तक विमोचनमा प्रधानमन्त्रीले उक्त अभिव्यक्ति दिएका हुन् ।
एमालेले बुधबारको संसद् बैठकमा त्यसैको विरोधमा प्रधानमन्त्रीको राजीनामा माग गरेको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत उठेर विरोध जनाएका थिए।
सभामुखले शुक्रबार दिउँसो सिंहदरबारमा प्रतिनिधि सभाको अवरोध हटाउन कार्यव्यवस्था परामर्श समितिको बैठक राखेका थिए। एमालेले प्रधानमन्त्रीको राजीनामाबाहेक अरू कुनै कुरामा सहमति गर्न नसकिने बताएको छ ।