काठमाडौं, नेपाल राष्ट्र बैंकले राजस्व बुझ्ने प्रयोजनको लागि सार्वजनिक बिदाका दिनमा पनि राजस्व कारोबार गर्ने सबै बैंक तथा वित्तीय संस्थाहरू खुला राख्न निर्देशन दिएको छ । चालू आर्थिक वर्ष सकिनै लाग्दा राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै अर्थ मन्त्रालय र महालेखा नियन्त्रकको कार्यालयको अनुरोधमा राजस्व बुझ्ने प्रयोजनको लागि बिदाका दिन पनि बैंक खुला राख्न दिर्नेशन दिएको हो ।
राष्ट्र बैंकको उक्त निर्देशनअनुसार राजस्व संकलन, चेक क्लियरिङ, विद्युतीय रकम ट्रान्सफरको फन्ड सेटलमेन्ट प्रयोजनको लागि असार २४ गते, २३ गते र असार ३० गते बिदाका दिन समेत राति ८ बजेसम्म र असार ३१ गते बेलुका सात बजेसम्म राजस्व कारोबार गर्ने सम्पूर्ण बैंकहरू, चेक क्लियरिङ एवं विद्युतीय रकम ट्रान्सफर (ईएफटी)को फन्ड सेटलमेन्ट गर्ने बैंक तथा वित्तीय संस्थाहरूका साथै नेपाल क्लियरिङ हाउस पनि खुला राख्न निर्देशन दिएको हो ।