काठमाडौं । विकास बैंकहरूमा कर्जा खाताको संख्या घट्दै गएको छ । नेपाल राष्ट्र बैैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो १० महिनामा वाणिज्य बैंक र फाइनान्स कम्पनीहरूको तुलनामा विकास बैंकहरूमा कर्जा लिनेहरूको संख्या घटेको छ ।
राष्ट्र बैंकका अनुसार २०८० वैशाख मसान्तसम्म २१ वाणिज्य बैंक, १७ विकास बैंक र १७ फाइनान्स कम्पनीसहित ५५ वटा बैंक तथा वित्तीय संस्था सञ्चालनमा छन् । यी सबैमा कर्जा खाताको संख्या १८ लाख ४२ हजार नौ सय ३० रहेको छ । यो संख्या गत आर्थिक वर्षको पहिलो १० महिनाको तुलनामा आठ हजार एक सय १२ खाता बढी छन् । गत आर्थिक वर्षको सोही अवधिमा कर्जा खाताको संख्या १८ लाख ३४ हजार आठ सय १८ वटा थियो ।
२०८० वैशाख मसान्तसम्म वाणिज्य बैंकहरूमा कुल १५ लाख १६ हजार सात सय २५ वटा कर्जा खाता रहेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६ हजार सात सय ८३ वटा बढी हो । गत आर्थिक वर्षको पहिलो १० महिनामा वाणिज्य बैंकहरूमा कुल कर्जा खाता संख्या १४ लाख ८९ हजार नौ सय ४२ थियो ।
विकास बैंकहरूमा सञ्चालनमा रहेको कुल कर्जा खाताको संख्या भने चालू आर्थिक वर्षको १० महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्म कुल दुई लाख ८४ हजार छ सय ४५ कर्जा खाता सञ्चालनमा छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८ हजार नौ सय ९२ वटाले कम हो । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूमा कुल तीन लाख तीन हजार छ सय ३७ वटा कर्जा खाताहरू सञ्चालनमा थिए ।
फाइनान्स कम्पनीहरूमा चालू आर्थिक वर्षको १० महिनामा कुल ४१ हजार पाँच सय ६० वटा कर्जा खाता सञ्चालनमा छन् । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन सय २१ ले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरूमा कुल ४१ हजार दुई सय ३९ कर्जा खाता सञ्चालनमा थिए ।
राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रमा कर्जा खाताको संख्या बढ्दा कर्जा रकम पनि बढेको छ । तर, जुन परिमाणमा कर्जा रकम बढेको छ त्यसको अनुपातको खाताको वृद्धिदर भने न्यून देखिएको छ । वैशाख मसान्तसम्म बैंकिङ क्षेत्रको कुल कर्जा रकम ४८ खर्ब ७७ अर्ब ३९ करोड ८० लाख रुपैयाँ पुगेको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक खर्ब ३६ अर्ब २८ करोड २७ लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकिङ क्षेत्रको कुल कर्जा रकम ४७ खर्ब ३८ अर्ब ६३ करोड ३० लाख रुपैयाँ थियो ।
वैशाखसम्म वाणिज्य बैंकहरूले मात्रै कुल ४३ खर्ब २० अर्ब २१ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक खर्ब १८ अर्ब ९९ करोड ३० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको कुल कर्जा रकम ४२ खर्ब एक अर्ब २२ करोड ५० लाख रुपैयाँ रहेको थियो । विकास बैंकहरूको कुल कर्जा रकम भने पछिल्लो अवधिमा चार खर्ब ६२ अर्ब नौ करोड ५० लाख रुपैयाँ रहेको छ । यो कर्जा रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ अर्ब १२ करोड ९० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूको कुल कर्जा रकम चार खर्ब ४५ अर्ब ९६ करोड ६० लाख रुपैयाँ थियो ।
फाइनान्स कम्पनीहरूले वैशाखसम्म प्रवाह गरेको कर्जा रकम ९२ अर्ब ६० करोड ७० लाख रुपैयाँ छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक अर्ब १६ करोड ५० लाख रुपैयाँले कम हो । गत आर्थिक वर्षको वैशाखसम्म फाइनान्स कम्पनीहरूको यस्तो कर्जा ९१ अर्ब ४४ करोड २० लाख रुपैयाँ थियो ।