काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अधिवेशनमा सर्वसम्मत नेतृत्व छान्ने प्रयास असफल भएको छ । असार ३० गते हुने चुनावी अधिवेनमा अध्यक्ष पदका कुनै पनि उम्मेदवारले सहमति गर्न नचाहेपछि त्रिपक्षीय भिडन्त हुने भएको हो । इक्यानका अध्यक्ष प्रकाश पाण्डेले सर्वसम्मत गर्ने प्रयास असफल भएको बताए ।
‘अध्यक्षको नाताले मेरो प्रयास सर्वसम्मत होस् भन्ने नै हो, अझै पनि मेरो प्रयास यही नै छ तर साथीहरूले यो प्रयासलाई स्वीकार गर्न चाहनुभएन, त्यही भएर हामी चुनावी मैदानमा होमियौं’, अध्यक्ष पाण्डेले भने ।
अध्यक्ष पदका लागि अहिले तीन जना आकांक्षी रहेका छन् । इक्यानका पूर्वअध्यक्ष विष्णुहरि पाण्डे, इक्यानका उपाध्यक्ष शेषराज भट्टराई र कृष्णहरि केसीबीच प्रतिस्पर्धा हुन लागेको हो । ‘हामीले चुनाव सर्वसम्वत होस् भन्ने चाहेका थियौं, सोहीअनुसार विष्णुहरि र शेषराज दुवैलाई उम्मेद्वारी फिर्ता लिएर देवीदाष भट्टराईलाई साझा उम्मेदवारको रूपमा सर्वसम्मत अध्यक्ष बनाऔं भनेका थियौँ तर भट्टराई यसमा लचिलो भए पनि पाण्डे लचिलो हुन सकेनन्, त्यही कारण यो अवस्था आयो, त्रिपक्षीय भिडन्त हुने भयो । तर अझै पनि मेरो प्रयास सर्वसम्मत होस् भन्ने नै हो’, अध्यक्ष पाण्डेले भने ।
यता इक्यानका पूर्वअक्षय विष्णुहरि पाण्डेले भने इक्यानको विधानमा दुई कार्यकाल अध्यक्ष हुन पाउने व्यवस्था रहेकाले सोहीअनुरूप आफूले अध्यक्ष पदको लागि उम्मेदावारी दिएको बताए । ‘मैले अध्यक्षको रूपमा यसअघि बहन गरेको जिम्मेवारी, शैक्षिक परामर्श क्षेत्रको विकास र विस्तारका लागि मैले गरेको योगदान नै मेरो जित्ने आधार हो’, अध्यक्षका उम्मेदवार पाण्डेले भने । इक्यानमा कुल चार सय ६७ भोट रहेकोमा दुई सय ५० भन्दा बढी भोट आफ्नो पक्षमा रहेको भन्दै सबै व्यवसायीको साथ र सहयोग आफूलाई रहेको पाण्डे बताए ।