काठमाडौं । देउराली बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक रविन्द्र चौलागाईंले बचतकर्ताको बचत दुरुपयोग गरी कमजोर धितोमा करिब चार अर्ब ऋण लिएर पाँचवटा बैंकलाई जोखिममा पारेको पाइएको छ । उनले विभिन्न १० वटा कम्पनीमा बैंकहरूबाट कुल ४ अर्ब रुपैयाँ ऋण लिएको देखिएको छ ।
हाल प्रभु बैंकमा गाभिएको तत्कालीन सेञ्चुरी कमर्सियल बैंकबाट मात्रै उनले २ अर्ब ५ करोड रुपैयाँ ऋण लिएका छन् । उनको पूजा मार्केटिङमा एनआईसी एसिया बैंकको ७ करोड रुयैयाँ ऋण रहेको बैंक स्रोतले जानकारी दिएको छ । साविकको मेगा बैंकको थप ऋण पनि रहेको र माछापुच्छ्रे बैंकको पनि ठूलै मात्रामा ऋण रहेको छ, तर उनीहरूले आफ्नो ऋण कति छ भन्ने खुलेर बताउन चाहेनन् ।
सहकारीमा सर्वसाधारणले बचत गरेको ३ अर्ब, बैंकबाट ऋण दिएको ४ अर्ब तिर्न नसक्ने भएपछि चौलागाईं फरार छन् । अर्बौं रुपैयाँ अपचलन गरेर ऋण तिर्न नसक्ने अवस्था आएपछि अहिले बैंकको सम्पर्कमा पनि नआएर भागेर हिँडेको बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए ।