गण्डकी । पछिल्ला समयमा यस क्षेत्रमा बढ्दै गएको पर्यटकको आकर्षणसँगै स्थानीय तहदेखि प्रदेश र सङ्घ तीनवटै सरकारको प्राथमिकतामा यहाँको पदमार्गले स्थान पाउन थालेको हो । कास्कीको मादी गाउँपालिका–१ मा पर्ने कफुचे हिमताललाई पदयात्रा पर्यटनसँग जोड्ने गरी पहल बढाइएको छ ।
समुद्री सतहबाट दुई हजार चार सय ५० मिटर उचाइमा रहेको यो ताल पछिल्ला समयमा पर्यटकको रोजाइमा पर्न थालेसँगै स्थानीय तहले पनि यसको प्रवर्द्धन र विकासलाई प्राथमिकतामा राखेको मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङग गुरुङले बताए । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै गएको यो ताललाई नेपालको सबैभन्दा कम उचाइमा रहेको हिमतालका रुपमा समेत लिने गरिएको छ ।
कला संस्कृतिले भरिपूर्ण नेपालकै ठूलो गुरुङ गाउँ सिक्लेसबाट एकदिनको पदयात्रामा यसस्थानमा पुग्न सकिन्छ । यहाँको विकास तीनवटै सरकारको प्राथमिकतामा रहेको बताउँदै गुरुङले सङ्घबाट पोखरा सिक्लेस, ताङतिङ हुँदै मनाङ जोड्ने पदमार्गलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने तयारी गरेको बताए ।
गण्डकी प्रदेश सरकारले मादी गाउँपालिका–७ को थाकबाट ताराहिल टप हुँदै कफुचेसम्मको पदमार्गका लागि रु. २५ लाख विनियोजन गरेको उनले बताए । त्यस्तै प्रदेशबाटै सिक्लेस कफुचे पदमार्गका लागि रु. पाँच लाख विनियोजन गरिएको छ ।
अघिल्लो वर्षदेखि नै गाउँपालिकाले सिक्लेसबाट कफुचेसम्मका लागि ५० प्रतिशत अनुदानमा घोडा खरिद गर्ने गरी कार्यक्रम अघि सारेको थियो । यसको कार्यविधि पनि तयार भइसकेको उनले बताए ।
कफुचे नामाकरण सम्बन्धमा स्थानीयवासीको भिन्नाभिन्नै तर्क छ । स्थानीय गुरुङ भाषामा ‘क’ भनेको हिउँको थुप्रो, ‘फु’ भनेको पग्लनु र ‘चे’ भनेको समथर ताल हो । हिउँ पग्लेर बनेको हुनाले यस ताललाई ‘कफुचे’ भन्ने गरिएको बताइन्छ । अन्नपूर्ण दोस्रो र चौंथो हिमालको बीचबाट आएको हिमपहिरो पग्लिएर बनेको यो ताल लगभग एक हजार दुई सय वर्गमिटरमा फैलिएको छ ।
पछिल्ला समयमा बर्सेनि बढ्दै गएको जलवायु परिवर्तनको असरका कारण हिउँ पग्लेर ताल बनेको स्थानीयवासी बताउँछन् । कफुचे ताललाई पदयात्रा पर्यटनसँग जोड्न सकेमा यहाँ ठूलो सङ्ख्यामा स्वदेशी एवम् विदेशी पर्यटक आकर्षित गर्न सकिने उनले बताए ।