युक्रेन । युक्रेनमा रुसी आक्रमणको पाँच सयौँ दिनमा पनि युद्ध अन्त्य हुने कुनै सङ्केत महसुस नगरेको त्यहाँका सर्वसाधारणले बताएका छन् । युद्ध सुस्ताउनुको सट्टा चर्किँदै जाँदा युक्रेनी सेना पर्याप्त हातहतियार र गोलाबारुदको अभावबीच यसका मुख्य सहरहरू निरन्तर खतरामा परे पनि आफ्नो पदीय दायित्व पूरा गर्न रुसी आक्रमणको प्रतिरोध गर्दै बिस्तारै अघि बढिरहेका छन् ।
जुन महिनाको सुरुदेखि नै युक्रेनको सेनाले पूर्व र दक्षिणमा रुसी सेनाले कब्जा गरेको क्षेत्र पुनः कब्जा गर्न आक्रमण गरिरहेको छ । आक्रमणबाट क्षति बेहोरेको रुसी सेनाले क्रूर प्रतिरोध गरिरहेको छ । दक्षिणी युक्रेनको निकोपोल सहरकी ७३ वर्षीया अवकाशप्राप्त शिक्षिका एन्टोनिना मोराखोवस्काले भनिन्, ‘रुसी सेनाले बलियो किल्ला निर्माण गरेका छन्, उनीहरूसँग धेरै उपकरणहरू छन् ।’
‘म देख्छु हाम्रो सेना कसरी अगाडि बढ्छ । यो वर्षामा उनीहरूका लागि सजिलो छैन । हाम्रा लागि लडिरहेका तिनीहरूको भविष्यबारेमा म सधैँ सोच्छु । तर, के गर्ने कमजोर परिस्थितिले युक्रेनलाई घाटामाथि घाटा भइरहेको देखाउँछ’, मोराखोवस्काले भनिन् ‘यो सत्यको लागि लडाइँ हो । जित कठिन छ तर हामी कुनै दिन अवश्य जित्नेछौँ ।’
पश्चिमी सैन्य सहायताको रूपमा अर्बौँ युरो प्राप्त गरे पनि युक्रेनी सेनाले आक्रमण सुरु भएदेखि लगभग एक दर्जन गाउँहरू र केही सय वर्ग किलोमिटर क्षेत्र मात्र फिर्ता लिन सफल भएको छ । गतवर्ष सेप्टेम्बरमा युक्रेनको सेनाले खार्किभ क्षेत्रको नौ हजार वर्ग किलोमिटर र नोभेम्बरमा खेरसन क्षेत्रको पाँच हजार वर्गकिलोमिटर क्षेत्र पुनः कब्जा गरेको थियो ।
युक्रेनका राष्ट्रपति भोलादिमिर जेलेन्स्कीले आगामी हप्ता हुने नेटो शिखर सम्मेलनको पूर्वसन्ध्यामा पश्चिमा शक्तिलाई लामोदूरीका हतियार र एफ–१६ लडाकु विमानका लागि दबाब दिएका छन् । यसै साता प्रागको भ्रमणका क्रममा राष्ट्रपति जेलेन्स्कीले भने, ‘आक्रमण तीव्र गतिमा हुँदैन, यो सत्य हो । तर, हामी अगाडि बढिरहेका छौँ ।’ रासस