काठमाडौं । सञ्चालक केदारनाथ शर्माले शिवशिखर बहुउद्देश्यीय सहकारीका बचतकर्ताको १४ अर्बभन्दा बढी रकम हिनामिना गरेको पाइएको छ । शर्माले ६ अर्ब रुपैयाँ भारत र म्यानमार पुर्याएको थाहाँ भएको छ ।
शर्माले ६ अर्ब २५ करोड नेपालमै रहेका आफ्ना विभिन्न कम्पनीमा लगानी गरेका थिए । उनले भारतबाट ल्याइएको सामानको खरिद मूल्य वास्तविक मूल्य भन्दा अत्यधिक देखाई पूँजी पलायन गराएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानले देखाएको छ ।
सहकारीका अध्यक्ष सुशील बानियाँ, उपाध्यक्ष भोजराज पौडेल, सचिव तेजबहादुर तामाङ, सदस्यहरू दिपकबहादुर ऐर र राजु साखकर्मी तथा व्यवस्थापक लिलानाथ गौतम शर्मासँगै फरार थिए । शर्मालाई सीआईबीले ११ असारमा भारतमा पक्राउ गरेको थियो ।
सहकारीका सञ्चालक अमिश राजभण्डारीले सीआईबीलाई दिएको बयानका क्रममा शर्माले ‘नेपाशिखर अर्गनाइजेसन इन्डिया लिमिटेड’ नामक कम्पनी दर्ता गरेर व्यवसाय गर्ने गरेको बताएका छन् । शिवशिखर सहकारीको रकम हिमामिना गर्ने कार्यमा मुख्य भूमिका केदारनाथ शर्मा, लिलानाथ गौतम र गीता शर्माको रहेको छ,’ उनले प्रहरीलाई दिएको बयानमा भनिएको छ ।