काठमाडौं । भ्रष्टाचारविरूद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न स्रष्टाको भूमिका महत्वपूर्ण हुने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वास व्यक्त गरेका छन् ।
सोमबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोजित ‘पुष्पलाल राष्ट्रिय पुरस्कार–२०७९’ समर्पण समारोहलाई सम्बोधन गर्दै उनले स्रष्टाको सिर्जना समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित हुनुपर्ने बताए ।
साहित्य र सिर्जनाले जनताको भावना बोल्न सक्नुपर्ने प्रधानमन्त्री दाहालले बताए । “जनताको ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादोन्मुख राज्य निर्माणको सङ्कल्प गरिसकेका कारण हाम्रा सिर्जनासमेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्छ”, उनले भने ।
नेपालको कम्युनिस्ट आन्दोलनमा मात्र नभएर सिङ्गो राजनीतिक आन्दोलनमा पुष्पलालको योगदान विशिष्ट रहेको प्रधानमन्त्री दाहालले बताए । मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थासम्म ल्याई पु-याउन पुष्पलाल श्रेष्ठले अनुसरण गरको सिद्धान्त, विचार, नीति र उनले देखाएको मार्गनिर्देशनको ठूलो योगदान रहेको छ, उनले भने ।
पुष्पलालका शिक्षालाई जीवन व्यवहारमा लागू गर्ने सङ्कल्प गरेर मात्र उहाँप्रति सच्चा सम्मान हुने उनले बताए । राजनीतिक, इतिहास, साहित्य, संस्कृति र विज्ञानका क्षेत्रमा भएको सिर्जनशीलताले देशको सर्वोपरि विकास, समृद्धि र समुन्नत समाज निर्माणमा मद्दत पुग्ने उनको विश्वास छ ।
पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले पुष्पलाल नेपाली राजनीतिको शिखर व्यक्तित्वका रुपमा रहेको बताए । पुष्पलालले नेपाली कांग्रेस र कम्युनिष्ट नमिलेसम्म निरङ्कुश सत्ता फाल्न नसकिने निष्कर्ष निकालेको सुनाउँदै अध्यक्ष नेपालले कांग्रेस र कम्युनिष्टले हातेमालो गरेपछि मात्रै निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य भएको बताए ।
पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनको शिखर व्यक्तित्वका रुपमा रहेको र उनका सपना पूरा गर्न लाग्नुपर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताए । पुष्पलालको सपनाका रुपमा रहेको नेपाललाई समाजवादमा पु-याउने कार्यभार पूरा गर्न वर्तमान सरकारले काम थालनी गरेको मन्त्री किरातीको भनाइ थियो ।
सम्मानित व्यक्तित्व कमलप्रसाद कोइरालाले सानो उमेरदेखि नै पुष्पलालसँग राजनीतिक सम्बन्ध रहेको स्मरण गरे । सरकारले नेपालको इतिहास, प्रगतिशील साहित्य सिर्जना, राजनीतिशास्त्र, समाजशास्त्र, अर्थशास्त्र विषयमा खोज, अनुसन्धान र लेखनमार्फत नेपाली समाजको परिवर्तनका निम्ति गरिएका योगदानको सम्मानस्वरुप प्रत्येक वर्ष तीन जनालाई पुष्पलाल राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ ।