विराटनगर । काठमाडौँको बालुवाटारस्थित ललिता निवास जग्गा घोटला प्रकरणमा विराटनगरका प्रतिष्ठित घरानाका पाँच व्यापारीहरुको नाम पनि उल्लेख भएको पाइएको छ ।
आरोपीतहरु धमाधम पक्राउ पर्न थालेपछि सारडा ग्रुपका अध्यक्ष शिवरतन सारडा, एसियन फुड्सको कारोबार हेरिरहेका राधेश्याम सारडा, श्रीनिवास सारडा र संविधानसभा सदस्यसमेत रहेका पवनकुमार सारडा र शिवरतन सारडाको छोरा सन्दिप सारडा पनि सम्पर्कविहीन रहेको स्रोतले जानकारी गराएको छ ।
उनीहरुको नाम ललिता निवासको जग्गा घोटला गर्नेहरुमध्येको ३९७ जनाको लिष्टमा रहेको बताइएको छ । गत असार १५ गतेपछि उनीहरु सम्पर्कविहीन बनेका हुन् ।
संविधानसभा सदस्य सारडा मोरङ व्यापार संघका पूर्व अध्यक्ष पनि हुन् । शिवरतन काठमाडौंमा बस्छन् । सारडा ग्रुपका अध्यक्ष उनी जेठो हुन् । माइला राधेश्याम, साइलो श्रीनिवास र पवन कान्छो भाइ हुन् ।
नेपालमा सारडा परिवारको १६० वर्षको इतिहास छ । श्रीनिवासको हजुरबाहरु भारतबाट नेपालको सिरहास्थित लहानमा बसेका थिए । त्यसबेला उनीहरुले जनकपुरसम्म व्यापार गरे । ४० को दशकपछि उनीहरु विराटनगर र काठमाडौं छिरेका हुन् । यो प्रकरणमा हालसम्म एक दर्जन व्यक्ति पक्राउ परिसकेका छन् । जसमा पूर्वसचिवमात्रै आधा दर्जन बढी छन् ।