काठमाडौं । काठमाडौं महानगरपालिकाले २० वर्षपछि नेपाली सेनाको अधिनमा रहेको स्वयम्भू बारूदखानाको बाटो खुला गरेको छ।
प्रधानसेनापतिलाई भेटेर महानगर प्रमुख बालेन शाहले पहल गरेपछि बाटो खोल्न सहज भएको बताइएको छ। बारूद खाना (जर्मन क्वाटर) को कम्पाउण्डभित्रबाट मुल सडकसँग जोडिने सडक खुला गरेको महानगरले बताएको हो ।
बालेन शाहले फिल्ड निरीक्षण गरेपछि नेपाली सेनाले हकभोग गरिरहेको जमिनबाट सडक खोल्नका लागि प्रधान सेनापतिसँग भेटेर समाधानका लागि छलफल गरेका थिए् । छलफलपछि अहिले क्वाटरको पूर्वतर्फ सिमानाको मुल सडकसँग जोडिने ६ मिटर र उत्तरतर्फ ३ मिटर चौडाइ भएको सडक खोलिएको आयोजना प्रमुख निर्मलराज बरालले बताए।
आयोजना क्षेत्रभित्र रहेको जग्गा २०६० साल वैशाख ५ गतेदेखि अधिग्रहण गर्न थालिएको हो। काठमाडौं महानगरपालिका वडा नं. १५ र १६ भित्र पर्ने आयोजनाभित्र करिब १ हजार ३६९ रोपनी जग्गा रहेको बताइएको छ। आयोजनाभित्रको ७२ प्रतिशत जग्गा आवासीय क्षेत्रका लागि छुट्टयाइएको छ।