काठमाडौं महानगरपालिका वडा नम्बर २१, लगनमा अवस्थिति आजाद आधारभूत विद्यालय भवन भाडामा लगाई सोही विद्यालयका प्रधानाध्यापक दिनबन्धु रेग्मीले लाखौँ रकम असुल गर्दै आएका छन् ।स्याङ्जा घर भई काठमाडौं, नैकाप बस्दै आएका प्रधानाध्यापक रेग्मीले नियमविपरीत विद्यालयका कक्षाकोठालाई सटरमा परिणत गरी त्यसबाट लाखौँ रकम असुली गरी व्यक्तिगत फाइदा लिइरहेका छन् । विद्यार्थीलाई कक्षाकोठाको अभाव देखाएर पठनपाठन प्रभावित बनाउँदै आएका रेग्मीले सोही विद्यालयका कक्षाकोठालाई सटर बनाई भाडा उठाउने र खाने गरेको स्थानीयले बताएका छन् ।
प्राधानाध्यापक रेग्मीले नियमविपरीत विद्यालयका दुईवटा कोठा तथा एउटा ‘फल्याट’ भाडामा लगाई लामो समयदेखि रकम असुल गर्दै आएको स्थानीय प्रशान्त खड्गेले आर्थिक दैनिकलाई बताए । ‘शैक्षिक वातावरण निर्माण गर्नुपर्नेमा व्यवसाय सञ्चालन तथा भोजभतेर गर्न दिएर विद्यालयलाई निजी प्रयोजनको भवनको रूपमा परिणत गर्न रेग्मीले काम गरिरहेका छन्’, खड्गेले आर्थिक दैनिकसँग भने, ‘विद्यालय, विद्यार्थी र स्थानीयको चाहनाविपरीत अध्ययन र अध्यापनलाई छाडेर भवनलाई व्यापारिक प्रयोजनको लागि प्रयोग गरिएको छ, जसले विद्यार्थीको भविष्यमा समेत खेलबाड भएको पुष्टि हुन्छ । यसमा वडा तथा सम्बन्धित निकायहरूले ध्यान नै दिनेगरेका छैनन् ।’
करिब नौ आना क्षेत्रफलमा फैलिएको जग्गामा विद्यालय भवनसमेत पर्दछ । सटरहरू भाडामा दिएबापत मासिक ७५ हजार रुपैयाँभन्दा बढी रकम विद्यालय अर्थात् प्रधानाध्यापक रेग्मीले बुझ्दै आएको सम्पादा संरक्षक समेत रहेका खड्गेको भनाइ छ । मासिक ७५ हजार रुपैयाँभन्दा बढी सटरभाडाबापत बुझ्दै आएका रेग्मीले सटर भाडामा दिएको १० वर्षभन्दा बढी समय भएको उनले बताए ।
हाल विद्यालय भवन रहेको सो स्थानमा विद्यालय निर्माण हुनुअघि उमामहेश्वर सत्तल भवन रहेको थियो । २०४० सालमा उमामहेश्वर, ढुंगेधार परिसर रहेको सो स्थानलाई स्थानीयले सत्तलमा परिणत गरेका थिए । सत्तल रहँदा स्थानीयले वार्षिकरूपमा विभिन्न पर्वपूजामा गुठी सञ्चालन गर्ने परम्परा रहेको थियो । त्यसपछि सत्तललाई आधुनिक भवनमा परिणत गरी विद्यालय सञ्चालन तथा क्लब स्थापना गरिएको थियो । विद्यालय निर्माणपछि प्रधानाध्यापकको रूपमा रेग्मी नियुक्त भएपछि विद्यालय भवन भाडामा दिने परम्पराको थालनी भएको हो । विद्यालय भवन दुरूपयोग गरेको विषय अख्तियार दुरूपयोग अनुसन्धान अयोगलाई समेत जानकारी गराइएको थियो । स्थानीयको उजुरी आएसँगै २०७७ चैत ३१ गते अख्तियारले उमामहेश्वर, ढंगेधार परिसर अर्थात् विद्यालय भवन रहेको स्थानको निरीक्षण गरी प्रतिवेदन पेस गर्न पुरातत्व विभागलाई पत्र लेखेको छ । १९४२० चलानी नम्बर रहेको सो पत्र अख्तियारले पुरातत्वलाई पठाएको हो ।
पुरातत्वले निरीक्षण गर्दा ढुंगोधारा, सत्तल रहेको स्थानमा पछिल्लो समय आधुनिक भवन निर्माण गरेको बताउँदै विद्यालय भवनको बारेमा विस्तृतमा बुझ्नको लागि काठमाडौं महानगरिपालिकामार्फत अघि बढाउँदा उपयुक्त हुने ठहर गरेको छ । तर, काठमाडौं महानगरका तत्कालीन मेयर विद्यासुन्दर शाक्यले त्यसमा चासो नदेखाउँदा विद्यालय भवन दुरूपयोगको विषय मत्थर भएको खड्गेको भनाइ छ । प्रधानाध्यापक रेग्मीले मेयर तथा वडा अध्यक्षलाई समेत आफ्नो पक्षमा पारेको कारण महानगरले समेत हस्तक्षेप नगरेको उनको भनाइ छ । प्रधानाध्यापक रेग्मी आफूलाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) देखाउँदै हिँड्ने गरेकाले तत्कालीन मेयर विद्यासुन्दर शाक्यको सहयोग मिल्ने गरेको पनि खड्गेले बताए । यसरी विद्यालय भवन दुरूपयोग गर्ने प्रधानाध्यापक रेम्मीलाई सबैतिरबाट सहयोग मिल्ने तथा गर्नेमा टोल सुधार समितिका कृष्ण खड्गे र स्थानीय राजु शाहीको समेत समर्थन रहेको उनको भनाइ छ । कृष्ण खड्गे र राजु शाहीले पनि सार्वजनिक जग्गा मिच्दै आएको अभियान्ता खड्गेले बताए ।
विद्यालय भवन रहेको सो जग्गा कमलप्रसाद जोशीको हो । २०२१ सालको नापीले सो जग्गालाई सरकारीकरण गरेसँगै सो जग्गा भू–माफियाको नजरमा परेको स्थानीयहरूले बताएका छन् । जोशीका आफन्तहरूले भने सो जग्गाको सही सदुपयोग होस् भन्दै आएको पाइन्छ भने उनीहरूले जग्गा फिर्ताको लागि पहल भने नगरेको अभियान्ता खड्गेले बताए । हाल विद्यालय भवन दुरूपयोगको विषयमा मेयर बालेन्द्र साहको सचिवालयलाई जानकारी गराइको र त्यहाँबाट सहयोग गर्ने जवाफ प्राप्त भएको उनले बताए ।