काठमाडौ बैशाख १४
जनता समाजबादी पार्टीका नेता एव्म पुर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ओलीतन्त्रमा कानूनको शासन कायम र नागरिकको जीवनरक्षा हुन्छ भनेर विश्वास गर्न नसकिने बताएका छन् । समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै प्रहरीमा उजुरी दिन आईतबार महानगरिय प्रहरी परिसर काठमाडौ पुगेका जसपाका नेताहरुको प्रहरीले उजुरी लिन नमानेपछि भट्टराईले यस्तो कुरा बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यत्रो देशविदेश तरंगित गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित ब्यक्तिले महानगरीय प्रहरी परिसर काठमाण्डौमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने ?’ महानगरीय प्रहरी परिसर काठमाडौंले पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सांसददय महेश बस्नेत र किसान श्रेष्ठ विरूद्ध जसपाका नेताहरुले दिएको अपहरण तथा शरिर बन्धकसम्बन्धी जाहेरी लिन आनाकानी गरेको छ।समाजवादी पार्टीका सांसद सुरेन्द्र यादव आइतबार दिउँसो आफूलाई अपहरण गरेको भन्दै प्रहरीमा उजुरी दिन परिसर कार्यालय टेकु गएका थिए।
