काठमाडौँ । आगामी साउन २० गते काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा प्रदान गरिने छात्रवृत्तिका लागि परीक्षा लिने भएको छ । यसका लागि महानगरपालिकाले बिहीबारदेखि अनलाइन आवेदन खुला गरेको छ ।
बिहीबार एक सूचना प्रकाशित गरी महानगर अन्तर्गतको शिक्षा विभागले शैक्षिक सत्र २०८०/८१ का लागि छात्रवृत्तिमा बिहीबार बिहान १० बजेदेखि साउन १२ गतेसम्म आवेदन खुला गरेको हो ।
महानगरको शिक्षा विभागले विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानुन र प्राविधिक विषयमा छात्रवृत्ति परीक्षा हुने जनाएको छ । परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित एक सय वटा बहुवैकल्पिक वस्तुगत प्रश्न सोधिने उक्त सूचनामा उल्लेख गरिएको छ ।