काठमाडौं । नेपाल सम्बद्ध समाजवादी ट्रेड युनियन महासंघले श्रमिकको न्यूनतम ज्याला न्यायोचित ढङ्गले निर्धारण हुनुपर्ने माग गरेको छ । जनता समाजवादी पार्टी (जसपा) सम्बद्ध महासंघले यसपटक श्रमिकको ज्याला निर्धारण गर्दा कम्तीमा २७ हजार हुनुपर्ने माग राखेको हो ।
नेपाल सरकारको सचिवस्तरीय अध्ययन कार्यदलले समेत श्रमिकको न्यूनतम ज्याला ३६ हजार रुपैयाँ हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन बुझाएको सन्दर्भमा महासंघले न्यूनतम पारिश्रमिक निर्धारण समितिमा श्रमिकका प्रतिनिधिहरूले एकमतका साथ श्रमिकको पक्षमा अडान लिनुपर्ने महासङ्घका अध्यक्ष अर्जुन लम्सालले बताए । ‘न्यूनतम ज्याला श्रमिकले कसैसँग माग्ने र कसैले दिने विषय होइन, यो उनीहरूको अधिकारको विषय हो’, उनले भने, ‘ट्रेड युनियनहरूले परम्परागत देखावटी शैलीको सट्टा प्रभावकारी र नतिजामुखी आन्दोलनका लागि तयारी रहनुपर्ने बेला भएको छ ।’ समाजवाद उन्मुख मुलुकको परिकल्पना गर्ने तर श्रमिकलाई उचित ज्याला दिने विषयमा सधैँ आलटाल गर्ने गरेको विषयप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।