पाँचथर । यस वर्षको वर्षायामको सुरुआतमै हेंवा खोलामा आएको बाढीले तटीय क्षेत्र तहसनहस पारेको छ । हेंवा खोलाले तटीय क्षेत्रमा जोखिम बढाएर ठाउँ–ठाउँमा बहाव बदलेको छ । बाढीले तटीय क्षेत्रका सबै संरचना, बालीनाली तथा पूर्वाधारमा क्षति पु-याएपछि जनजीवन असामान्य बनेको छ । चार वटा मोटरेवल पुल बगाएको हेंवा खोलाले तटीय क्षेत्रमा रहेको हजारौँ रोपनी खेतीयोग्य जमिनलाई खण्डहरमा परिणत गरेको छ ।
हिलिहाङ गाउँपालिकाको हेंवा खोलाको तटीय क्षेत्रमा कृषि उत्पादन र पशुपालन गर्दै आएका भवानी योक्पाङ्देन तटीय क्षेत्र जोखिमपूर्ण बनेको बताउँछिन् । “बाढी आउनुअघि ठूलो बगर थियो । फिजारिएको खोलामा बाढी आइहाल्दा पनि डराउनुपर्ने अवस्था थिएन”, योक्पाङ्देनले भनिन्, “अहिले बाढीले सबै बगर पुरेको छ भने खोला गहिरिएर गएको छ ।” गहिरिएको खोलाले सानो बाढी आउँदा पनि बगर छिचोल्ने डर तटीय क्षेत्रका बासिन्दाको छ ।
बाढी आएपछि खोलाले बहाव यत्रतत्र बदलेको छ । जसकारण पानीको मात्रा बढ्नासाथ बहाव बदलिएर बस्तीसम्म पस्ने खतरा कायमै रहेको योक्पाङ्देनको चिन्ता छ । “बर्खा सुरु मात्रै हुँदैछ । अझै पानी पर्ने समय तीन/चार महिना बाँकी छ”, योक्पाङ्देनले भनिन् ।
फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ माझीटारमा कहिल्यै खेती नटुटेको खेतबारीलाई यसपालिको बाढीले ढुङ्गामुढाको खण्डहरमा परिणत गरिदिएको छ । दोभान नजिकै हेंवा खोलामा ढुङ्गा थुपारेको छ । नदीको कटान परिवर्तन हुनु र ढुङ्गा थुपारिनुले माझीटारको मुख्य बस्ती जोखिममा परेको स्थानीयवासी प्रकाश माझीको भनाइ छ ।
हेंवा खोलाका बाढीका कारण कुलबहादुर लावतीको खेतीयोग्य जमिन बालुवा, ढुङ्गा र मुढाले भरिएको छ । जे रोप्यो त्यही फल्ने खेत बालुवाले पुरेपछि के आम्दानीले जीविका चलाउने भन्ने चिन्ता परेको लावती बताउँछन् । माझीटारको धेरै धान उत्पादन हुने खेत बगाएको छ भने खानीपानी र सिँचाइका स–साना योजनालाई कामै नलाग्ने बनाइदिएको छ ।
हेंवा खोलाले शताब्दीऔँदेखि अन्नपात उत्पादन गरिँदै आएका खेतबारीमा क्षति पु¥याएको छ । खण्डहर र बगर बनेका खेतबारीमा तत्कालै उत्पादन हुने सम्भावना छैन । जसले हिँउद र बर्खामा दुई खेती गरी जीविका चलाउँदै आएका कृषकलाई मारमा पारेको छ । त्यससँगै बाढीको जोखिमले भविष्यबारे पनि स्थानीयवासीलाई चिन्तित पारेको छ ।
सरकारी निकायले वेवास्ता गरेको हिलिहाङ–७ की सुमिना लिम्बूको भनाइ छ । “घर बगाएका, मृत्यु र बेपत्ता भएका परिवारबारे सरकारले चासो राखेको छ तर घरबार भएर पनि बस्न नसक्ने स्थितिमा पुगेका हामीलाई कसैले एक शब्द सोध्नुभएको छैन्”, लिम्बूले हिलिहाङ गाउँपालिकाका निवर्तमान अध्यक्ष भुवानीप्रसाद लिङदेनसमक्ष गुनासो पोखिन ।, “आज बल्ल तपाईं हाम्रो पीडा हेर्न आइदिनुभयो । अरुलाई त फोन गरेर आइदिनुहोस् न भन्दा पनि मान्नुभएन ।”
स्थानीय सरकारले केही ढाडस दिएर जोखिममुक्त गर्दै उत्पादन र व्यवसायलाई पुरानै लयमा फर्काउनु आवश्यक रहेको जिल्ला समन्वय समिति पाँचथरका निवर्तमान प्रमुख विष्णुप्रसाद सापकोटा बताउँछन् ।