काठमाडौं । लगातार दुई दिन रिभर्स रिपो जारी गरी ४० अर्ब रुपैयाँ प्रशोचन गर्दा समेत वित्तीय प्रणालीमा अधिक तरलताको स्थिति कायमै रहेपछि नेपाल राष्ट्र बैंकले बिहीबार निक्षेप संकलन उपकरण प्रयोग गरी २९ दिनका लागि थप २० अर्ब रुपैयाँ तानेको छ । राष्ट्र बैंकले मंगलबारदेखि बिहीबारसम्म रिभर्स रिपो र निक्षेप संकलन उपकरणमार्फत कुल ६० अर्ब प्रशोचन गरेको हो ।
वित्तीय प्रणालीमा अधिक तरलताको स्थिति देखा परेपछि अन्तरबैंक ब्याजदर एक प्रतिशतभन्दा तल झरेको छ । राष्ट्र बैंकका अनुसार अहिले बैंकहरूले एक–आपसमा लिने कर्जाको ब्याजदर शून्य दशमलव ९० प्रतिशतमा झरेको छ । बैंकिङ प्रणालीमा दैनिक १०/१२ अर्ब रुपैयाँले निक्षेप बढेको छ । अहिले वित्तीय प्रणालीमा ५७ खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप छ । निक्षेप बढ्दै जाने तर कर्जा प्रवाह घट्ने स्थिति छ । आर्थिक वर्षको अन्त्यमा सरकारले विकास खर्चको भुक्तानी बढाएको र बैंकहरूले कर्जा असुलीमा जोड दिएका कारण निक्षेप बढ्दै गएको छ भने कर्जा प्रवाह घट्दै गएको छ । अहिले वित्तीय प्रणालीबाट प्रवाह भएको कुल कर्जा ४८ खर्ब ५४ अर्ब रुपैयाँ मात्रै छ । निक्षेप र कर्जा फरक नै करिब आठ खर्ब ८२ अर्ब छ । यसमध्ये बैंकहरूले चार खर्ब ७६ अर्ब रुपैयाँ नयाँ कर्जा लगानी गर्न पाउने पैसा हो ।
बैंकिङ प्रणालीमा भएको यही अधिक तरलतालाई नियन्त्रणमा राख्नका लागि राष्ट्र बैंकले २० अर्ब रुपैयाँको निक्षेपको रूपमा तानेको हो । यो निक्षेप साउन २६ गते परिपक्व हुनेछ ।