काठमाडौं । मिटरब्याजका कारण साहुकारले तराईका जिल्लामा सयौँलाई घरबारविहीन बनाएको विषयमा ठूलै आन्दोलन भएपछि सरकारले कार्यदल नै गठन गरेको छ । मिटरब्याजका कारण तराईका जिल्लामा मात्र नभएर काठमाडौंमै पनि धेरैको विचल्ली भएको छ ।
प्रहरीकै हाकिमहरूले भ्रष्टाचार गरेको सम्पत्ति बिचौलियामार्फत मिटरब्याजमा लगाउने गरेका घटना अहिले पनि पाउन सकिन्छ । २०६० को दशकमा वीरेन्द्रलाल श्रेष्ठले प्रहरीका हाकिमहरूको भ्रष्टाचारको रकम मिटरब्याजमा चलाउँथे । महेशबहादुर सिंहका कारण अरबौँ सम्पत्ति भएका जावलाखेलका उद्धव केसी देशबाटै पलायन हुन बाध्य भए ।
महेश सिंहसँग दुई करोड लिएका उनी आठ करोड तिर्दा पनि साँवा नघटेको र ज्यान नै असुरक्षित हुने भएपछि देश छाडेर पलायन भए । अर्बिट इन्टरनेसनलजस्तो राम्रो कन्सलटेन्सी सञ्चालन गर्ने उनी मिटरब्याजकै कारण देशबाट पलायन भएका थिए । उनीमात्र होइन, बलराम सापकोटा ‘बले’, प्रहरीका हाकिमको पैसा मिटरब्याजमा चलाएर आज पाँचतारे होटल मेची क्राउनदेखि विभिन्न क्षेत्रमा लगानी गरी अर्बपति भएका छन् ।
प्रहरीदेखि भ्रष्ट न्यायाधीशको रकम मिटरब्याजमा चलाउनेमा कविन शाक्य पर्दछन् । मिटरब्याजकै कारण अर्बपति हुनेमा उनी पर्दछन् । वीरेन्द्रलाल, बलराम, कविनहरूले तीन करोडको घर आफ्नो नाममा पास गरी ४० लाख दिने र दैनिक एक लाखको एक हजार रुपैयाँसम्म ब्याज लिएर छ महिनादेखि एक वर्षमा कन्चटमा पेस्तोल राख्दै घर हडप्ने धन्दा नै सञ्चालन गरेका थिए ।
मिटरब्याजको लहरो तराईमा मात्र छैन राजधानीमै यो समस्या विकराल छ भन्ने प्रतिनिधि उदाहरण हुन् यी । त्यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकारीको भ्रष्टाचारको रकम मिटरब्याजमा लगाउनेमा पर्दछन् रुपेश पाण्डे । उनको देखावटीरूपमा दरबारमार्ग र न्यूरोडमा सारी र फेन्सी पसल छ । तर, उनको मुख्य पेसा भनेको मिटरब्याजमा पैसा दिने नै हो । सशस्त्र प्रहरी बलका पूर्वआइजीपी शैलेन्द्र खनाल र नेपाल प्रहरीका पूर्वएआईजी उत्तम सुवेदी, अर्का पूर्वएआईजी हेमन्त पालहरूको रकम मिटरब्याजमा लगानी गर्नेमा पाण्डेको नाम आउने गरेको छ ।
शैलेन्द्र खनालले चार वर्ष सशस्त्र प्रहरीको आईजीपी हुँदा ठेक्कापट्टा, सरुवामा लिएको करोडौँ रकम पाण्डेमार्फत नै दरबारमार्गमा रहेको ग्रीनलाइन सेन्टरका सञ्चालक अमित अग्रवाललाई मिटरब्याजमा दिएका थिए । कोरोना महामारीमा लकडाउनका कारण सबै होटल रेस्टुरेन्ट बन्द भए, ग्रीनलाइन सेन्टरको ठूलो रकम बजारमा फसेपछि मिटरब्याजको रकम पाण्डेलाई तिर्न सकेन ।
शैलेन्द्र खनाल र उत्तम सुवेदीको रकम मिटरब्याजमा दिएका पाण्डेले अग्रवाल परिवारलाई दैनिक धम्की दिन थालेपछि उनीहरू सहन नसकेर भारत पलायन भएका थिए । आईजीपी पदमा कायम रहेका शैलेन्द्र खनालको तर्फबाट पाण्डेले दिएको टर्चर सहन नसकेपछि उनी भारत पलायन भएका थिए ।
भारतमा गएर अमित अग्रवालले पोल खोल्नसक्ने भएपछि सशस्त्रका तत्कालीन आईजीपी खनाल हठात बिरामीको बहानामा भारत गएर पोल नखोल्न थामथुम पारी नेपाल फर्किएका थिए । बिरामी भएकाले उपचार गर्न गएको भनेका खनाल दिल्ली पुगेकै भोलिपल्ट सपिङ गर्न व्यस्त भएको तस्बिर त्यसबेला नै एक साप्ताहिक पत्रिकाले सार्वजनिक गरेको थियो ।
तिनै मिटरब्याजमा पैसा लगानी गर्ने उत्तमराज सुवेदीलाई सरकारले मिटरब्याजपीडितलाई न्याय दिने कार्यदलमा सदस्य राखेको छ । जसले मिटरब्याजमा पैसा लगाउँछन् तिनैलाई कार्यदलमा राखेको टिप्पणी कतिपयले गर्दै आएका छन् । पूर्वएआईजी सुवेदीले रुपेश पाण्डे मात्र नभएर ऋषि सुवेदीहरूलाई समेत मिटरब्याजमा पैसा लगानी गर्नेगरेको आरोप छ ।
सरकारले तीन महिनाअघि २०७९ चैत २० गते मिटरब्याजपीडितको समस्या समाधान गर्न कार्यदल गठन गरेको थियो । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित तीन सदस्यीय ‘मिटरब्याज अपराध नियन्त्रणका उपायहरू सिफारिस गर्न कार्यदल’मा नेपाल प्रहरीका पूर्वएआईजी सुवेदी र सहसचिव गणेशबाबु अर्याल रहेका छन् । उक्त समितिको म्याद मंगलबार पुनः तीन महिनाका लागि थपिएको छ ।