पोसकान्त पोखरेल
रुपन्देही,बैशाख १४
रुपन्देहीको भलबारीमा अवस्थित सेण्ट जोसेफ इङ्लिस बोर्डिङ माविले प्रविधियुक्त कक्षाहरु सञ्चालनमा तीव्रता दिएको विद्यालयका सहायक प्राचार्य कमल पोखरेलले जानकारी गराए । पोखरेलले कोरोना भाइरसको संक्रमणको महामारीका कारण शैक्षिक संस्था बन्द गर्नुपर्ने बाध्यात्मक अवस्थालाई मध्यनजर गर्दै प्रविधिमैत्री अनलाइन कक्षाहरु सञ्चालन गरेको बताए । सहप्राचार्य पोखरेलले भने, ‘शैक्षिक संस्थाहरु बन्दा हुँदा स्वभाविक रुपमा पठनपाठनले गति लिन सक्दैन । स–साना कक्षाका विद्यार्थीहरुलाई अभिभावकहरुले पनि पढाउन सक्नुहुन्छ तर माथिल्ला कक्षाका विद्यार्थीहरुलाई सबै अभिभावकले पढाउन सक्नुहुन्न । नियमित रुपमा पठनपाठन गर्ने शैक्षिक संस्थाहरु बन्द हुँदा बन्दको असर सबै विद्यार्थीहरुलाई परेकै हुन्छ ।
त्यसमा पनि सबै भन्दा बढी असर तल्लो कक्षाहरुमा अध्यन गर्ने विद्यार्थीहरुलाई भन्दा माथिल्ला कक्षाहरुमा अध्यन गर्ने विद्यार्थीहरुलाई पर्दछ । तिनै विद्यार्थीहरुको अवरुद्ध पठनपाठनलाई मध्यनजर गर्दै जुम एप्सको सहयोगमा अनलाईन कक्षाहरु सञ्चालनमा तिब्रता दिएका हौं ।’
विद्यार्थीहरुमा भएको ज्ञानलाई गर्न र नयाँ सिकाइको अभ्यासको लागि विद्यालयले सञ्चालन गरेका अनलाइन कक्षाहरुले प्रभावकारी भूमिका खेलेको बताउँदै सह–प्राचार्य पोखरेलले कक्षा १२ व्यवस्थापन संकायका एक सय ४० जना, विज्ञान संकायका ६० जना र कक्षा दशमा अध्यन गर्ने अहिले एसईई दिने ३७जना विद्यार्थीहरु गरी दुई सय ३७ जना विद्यार्थीहरुले अनलाइन कक्षा पठनपाठनबाट लाभ लिईरहेको बताए । उनले सुरुमा त हामीलाई अनलाइन कक्षाहरु सञ्चालनले खासै प्रभाव पार्ला जस्तो लागेको थिएन । तर कक्षाहरु सञ्चालन भइसकेपछि विद्यार्थीहरुको उत्सुकताले निरन्तरतामा हौसला थपेको बताए ।
विद्यार्थीहरुको क्षमता वृद्धिमा अनलाइन माध्यमबाट पठनपाठन गराउँदै आएको सेण्टजोसेफले सञ्चालन गरेको उक्त अनलाईन कक्षाहरुमा प्राचार्य लक्ष्मण अर्याल, सहायक प्राचार्य कमल पोखरेल र प्लस टु कोडिनेटर अर्चित श्रेष्ठ र छविलाल भुषालले विद्यार्थीहरुका जिज्ञासा तथा पठनपाठन सम्बन्धी विशेष कक्षाहरु सञ्चालन गरेको सो विद्यालयले जनाएको छ । शैक्षिक गुणस्तरमा जिल्लामै गनिने शैक्षिक संस्थाको रुपमा परिचित विद्यालयले नियमित रुपमा अभिभावकहरुको सम्पर्कमा रहि विद्यार्थीहरुको पठनपाठन क्षमता वृद्धिमा जोड दिइरहेको पाइन्छ ।