काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा मुलुकको राष्ट्रिय प्रणालीमा थप नौ सय मेगावाट बराबरको बिजुली थपिने बताएका छन् । हाल प्रणालीमा दुई हजार मेगावाट बराबरको बिजुली जोडिएको उनले जानकारी दिए ।
राष्ट्रियसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विभिन्न शीर्षकमाथि उठेको प्रश्नको जवाफमा उनले आन्तरिक खपत बढाउनेमा नै सरकारले जोड दिने बताए । बढी भएको बिजुलीमात्रै विदेशमा निर्यात गरिने उनको भनाइ थियो ।
आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली भारतलाई निर्यात गर्ने र त्यसका लागि कुल २० हजार मेगावाट बराबरको आयोजना निर्माणको प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए ।