काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निजी क्षेत्रलाई देशको नीतिले संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । बिहीबार नेपाल उद्योग परिसंघका पदाधिकारीसँग भेट गरी उनले नीति बनाउने र कार्यान्वयन तहसम्म निजी क्षेत्रको संस्थागत प्रतिनिधित्व हुनुपर्ने बताए । अर्थतन्त्रलाई बलियो बनाउन निजी क्षेत्र बलियो बन्नुपर्ने उनको भनाइ छ । यस्तै, उनले सरकार र राजनीतिक दलहरूले गर्नुपर्ने काम परिसंघले सुरु गरेको भन्दै बजेट कार्यान्वयन मार्गचित्र ‘बजेट वाच’ का लागि धन्यवाद समेत दिए ।
भेटमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले हाल अर्थतन्त्र अप्ठ्यारो स्थितिमा रहेकाले बजारलाई चलायमान गराउने नीतिको आवश्यकता औल्याए । उनले सबै दलहरूले आर्थिक विषयलाई प्राथमिकतामा राख्दै प्रभावकारी बजेट कार्यान्वयन गराउनुपर्नेमा जोड दिए ।
अध्यक्ष अग्रवालले भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने समझदारी गरिसकेकाले जलविद्युत् आयोजनाको पीपीए खुला गरिनुपर्ने, सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा पूर्वाधार विकास गरिनुपर्ने, सूचना प्रविधि, सिप विकासलगायतका क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरे । यस्तै, उनले भूतप्रभावी हुने गरी कर लगाउँदा स्वदेशी एवं विदेशी लगानीकर्ताबीच नराम्रो सन्देश जानेतर्फ सचेत बन्नुपर्ने बताए ।