काठमाडौं । मानव अधिकार तथा शान्ति समाजको आयोजनामा देशका विभिन्न भागमा दलित समुदायमाथि भइरहेको उत्पीडन र अत्याचारविरुद्ध ६ जिल्लामा प्रदर्शन गरिएको छ ।
२०८० असार २३ गतेदेखि ३१ गतेसम्म छुवाछुत मानवताविरुद्ध अपराध हो भन्दै शान्ति समाजका जिल्ला शाखाको आयोजनामा सुर्खेत, चितवन, सङ्खुवासभा, नवलपुर, पाल्पा, दाङ, सुनसरी, बाँके, गोरखा, रुपन्देही, काठमाडौं, तेह्रथुम, कैलाली, नुवाकोट, मोरङ र कास्की गरी १६ जिल्लामा प्रदर्शन गरिएको हो ।
‘प्रदर्शनमा ‘हाम्रो आन्दोलन : सामाजिक न्यायका लागि’, दलित समुदायमाथि भइरहेको उत्पीडन बन्द गर’, ‘दलित समुदायमाथि भइरहेको अत्याचार बन्द गर’, ‘जातीय विभेदका घटनामा दोषीलाई कारबाही गर’ लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
“दलित अधिकार मानव अधिकार” भन्दै सामाजिक न्यायका लागि विगत २७ वर्षदेखि अभियानरत दण्डहीनताविरुद्ध अभियान जारी राखिने शान्ति समाजका सभापति रामकृष्ण बरालले बताए ।
विभिन्न कालखण्डमा राजनीतिक परिवर्तन र कानुनी व्यवस्था गरिए पनि छुवाछुत र जातीय भेदभावजस्ता मानवताविरुद्धको अपराधका घटना बारम्बार भइरहेको र त्यस्ता घटनामा संलग्न दोषीलाई राजनीतिक एवं सामाजिक संरक्षण प्राप्त भएकाले दण्डहीनता बढेको शान्ति समाजको ठहर छ ।